सफल सहकारीद्धारा सदस्यलाई डेंगु सचेतना

पोखरा ।

गत साउन १४ गतेबाट पोखरामा देखिएको डेंगु रोग अझै पनि नियन्त्रणमा आउन सकेको छैन । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण फैलिइरहेको अवस्थामा यहाँको एक सहकारी संस्थाले आमन्त्रीत अतिथि तथा शेयर सदस्यहरुलाई यस सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।

पोखरा महानगरपालिका–७ मा दर्ता भई १७ मा कार्यालय सञ्चालन गरि कारोवार गर्दै आएको सफल बचत तथा ऋण सहकारी संस्थाले १२ औँ वार्षिक साधारणसभाको अवसरमा एक घन्टाको डेंगु सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले सहभागिहरुलाई रोग सम्बन्धी जानकारी गराउँदै हरेक घर, टोल र वडामा लामखुट्टेको बासस्थान तथा लार्भा निरन्तर नष्ट गर्नुपर्ने बताउनुभयो ।

डेंगुको लामखुट्टेको लागि २५ देखि ४० डिग्रीको तापक्रम उपयुक्त हुने हुँदा पोखरामा बाह्रै महिना सचेत रहनु पर्नेमा आवश्यकता औल्याउँदै उहाँले महानगरमा हाल हप्तामा दुई दिन खोज र नष्ट गर अभियान सञ्चालन भइरहेपनि यसलाई वर्षभरिनै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य प्राविधिकले मात्र रोग नियन्त्रण सम्भव नहुने भएकाले सर्वप्रथम प्रत्येक व्यक्ति आफै सचेत हुनुपर्नेमा जोड दिँदै लम्सालले भन्नुभयो गत वर्ष कात्तिक देखि पुस महिनासम्म प्रदेशमा सात सय जनामा देखिएको रोग यस वर्ष असोजको पहिलो हप्तासम्ममा तीन हजारमा देखिएकाले सम्वेदनशील बन्नु अपरिहार्य छ ।

कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले कार्यक्रमको उद्घाटन गर्दै सदस्यहरुलाई सचेतना कार्यक्रम गरेर संस्था सदस्यप्रति जिम्मेवार बनेको उल्लेख गर्नुभयो । सरकार एक्लैको प्रयासबाट रोग नियन्त्रण नहुनेभएकाले सरकारी तथा सामूदायिक सङ्घसंस्था लाग्नुपर्ने भनाई उहाँको थियो ।
उपसभामुख शर्माले सहकारी संस्थाले उत्पादनमा लगानि गरेर मुलुकमा सञ्चालित समृद्धिको अभियानमा सघाउन आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष हरि बास्तोलाले पोखरामा प्रकोपको रुपमा देखिएको डेंगु व्यक्ति, परिवार, टोल हुँदै फैलने भएकाले सदस्यहरुलाई यसबाट सुरक्षित बनाउने लक्षयका साथ सचेतना कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

सहकारी सङ्घसंस्थाहरु बचत सङ्कलन तथा ऋण लगानीमा मात्र केन्द्रित हुन नहुने बताउँदै उहाँले भन्नुभयो,‘सदस्यहरुको हित संस्थाको प्राथमिकता हो, साथसाथै अहिलेको प्रमुख सरोकार रहेको डेंगुको बारेमा समेत जानकारी गराउँदै सचेत बनाउन कार्यक्रम गरेका हौँ।’ संस्थामा हाल ४६० सदस्य छन् ।

कार्यक्रममा संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याउनु संस्थाका संस्थापक अध्यक्ष अनिलकुमार शाही र निवर्तमान अध्यक्ष हरिप्रसाद श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष एवं लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले मूल्य, मान्यता तथा नीति नियमलाई अनुशरण गरेर सहकारी संस्थाहरु सञ्चालन हुनुपर्ने बताउनुभयो ।

जिल्ला बचत सङ्घका उपाध्यक्ष बलराम गौतम, संस्थाका सल्लाहकार हरिप्रसाद श्रेष्ठ, विद्यार्थी वर्षा बास्तोला, विरुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रराज बराल, संस्थाका उपाध्यक्ष वासुदेव पौडेल, शिक्षा समिति संयोजक गणेश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमम दश जोड दुई, स्नातक र स्नाकोत्तरमातहमा सामूदायिक तथा संस्थागत विद्यालयवाट उत्कृष्ट अंड्ड प्राप्त गर्ने शेयर सदस्यका छोराछोरी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

साधारणसभाले संस्थाका अध्यक्ष बास्तोला, कोषाध्यक्ष पवित्रा जिसी तथा लेखा सुपरीवेक्षण समितिका संयोजक रुकुमबहादुर जिसीले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको संस्थाका सचिव धनबहादुर रानाभाटले जानकारी दिनुभयो ।