जन्मदिनमा विद्यालयलाई सहयोग

पोखरा ।

रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका पूर्व विद्यार्थी राजन सुवेदीले आफ्नो जन्मदिनमा विद्यालयलाई सहयोग गरेका छन् ।

सोही विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्षसमेत रहेका सुवेदीले आफ्नो २९ औँ जन्मदिनका अवसरमा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद सामग्री तथा पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण गरे ।जन्मदिनलाई भड्किलो बनाउने संस्कार बढ्दैगएकोमा त्यसलाई न्युनीकरण गर्नुपर्ने सोचअनुसार आफूले जन्मदिन मनाउन यो तरिका अपनाएको सुवेदीले बताए । जन्मदिनमा गरिने खर्चलाई सही ठाउँमा सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।युवा नेता राजन होटल पी. राजका प्रबन्धक हुन् भने समृद्ध रुपा क्लबका समेत अध्यक्ष हुन् ।

प्रधानाध्यापक रुपिन्द्रले राजनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताए । स्वयम् होटल व्यवसायी भएर पनि होटलमा गरिने खर्चलाई प्रोत्साहन नगरी जन्मदिनमा आफू पढेको विद्यालयलाई सहयोग गर्नु सराहनीय काम भएको उनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा समृद्ध रुपा क्लबका सचिव नीलकण्ठ रेग्मी र पूर्व प्रअ जयराम सुवेदीले राजनलाई जन्मदिनको शुभकामना दिएका थिए ।