भदौ ११ गतेदेखि वाईवाई तीज मेला

पोखरा । महिलाहरुको चाड हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेशन एण्ड इभेन्टले वाईवाई तीज मेला-२०७६ को आयोजना गर्ने भएको छ ।

भदौ ११ गतेदेखि १७ गतेसम्म पुरानो टुडिखेल मैदान बगरमा आयोजना हुने मेलामा मौलिक तीज प्रतियोगितालाई विशेष प्राथमिकतामा राखिएको संयोजक एवम पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले बताईन् । उनका अनुसार मेलाको तयारी तिव्र पारिएको छ ।

उनका अनुसार दिदी—बहिनीहरु तीजको दिनमा वर्त बस्ने र नजीकको सेती नदीमा गई स्नान गर्ने तत्पश्चात टुँडीखेल मैदानमा बसी रातभरी आफ्ना विरहका गीत गाउने, नाच्ने र दुःख साटासाट गर्ने थलो टुँडीखेल भएकाले उक्त स्थानमा मेला गर्न लागेका हौ ।

तीज प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमशः नगद रु ३० हजार १सय १,रु २० हजार १सय १ र १० हजार १सय १ पुरस्कार स्वरुप प्रदान गर्ने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
यस्तै सान्तवना हुने २ टिमले रु ५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । एकल तीज गीत गृहणी नृत्य प्रतियोगिता अन्तर्गत प्रथम, द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमशः नगद रु. १० हजार १ सय १, ७ हजार १ सय १, ५ हजार १ सय १ र ३ हजार १सय १ प्राप्त गर्नेछन् ।

१ हप्ते मेलामा म्यूजिकल चियर प्रतियोगिता,टपरी गाँस्ने प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता समेत राखिएको मेलाका मूल आयोजक समितिका सह-संयोजक एवम इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।

मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायीक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था रहेको मेलाका प्रचारप्रसार उपसमितिका संयोजक दिनेश शर्माले बताए । उनका अनुसार मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहनेछ ।

मेलालाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि मूल आयोजक समिति, कार्य सम्पादन समिति, महोत्सव संरक्षण समिति सँगै २२ ओटा विभिन्न उप-समितिहरु गठन गरिएको छ ।

मेलाबाट संकलित रकम इन्द्रेणी एकेडेमीमा रहेका विद्यार्थीहरुको स्त्तरोन्तीमा खर्च गर्ने बताइएको छ । मेला विगत २ं०३७ सालदेखि पोखरामा निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल गण्डकी प्रदेशकै अग्रणी संस्था इन्द्रेणी एकिकृत विकास केन्द्रको सहकार्यमा गर्न लागिएको हो ।

मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ , प्रायोजकमा सर्बोतम सिमेन्ट, सिक्नेचर र हरपल चामल, अफिसियल बैंकिङ पार्ट्नरमा प्रभु बैक , सहप्रायोजकमा नेपाल टेलिकम राष्ट्रको सन्चार, नेपाल आइस बियर र कुन्दन तेल , उप-प्रायोजकमा बिग मास्टर वाइन , सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र पिसा आटा , सहयोगीमा नारायणी स्टिल , अन्नपूर्ण केवलकार , रियो जुस , एनबिजेके सप्लायर्स र कुइक्स चिज्वल्स प्रबर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको प्रचार उपसमिति संंयोजक दिनेश शर्माले जानकारी दिए ।