गण्डकी प्रदेश प्रमुखले दिए जनै पूर्णिमाको शुभकामना

पोखरा ।

गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् ।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कुँवरले तागाधारी समुदायले मात्रै नभई यो पर्वलाई विभिन्न समुदायले धुमधामका साथ मनाउने र समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा रक्षाबन्धन भएकाले यसको अत्यन्त ठूलो महिमा भएको बताएका छन् ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्’ प्रदेश प्रमुख कुँवरद्वारा जारी गरिएको सन्देशमा भनिएको छ,‘नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले आजको दिनलाई भगवान् गौतमबुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ ।’

उत्साह र उमङ्गका साथ विभिन्न समुदायले खुशीयालीस्वरुप मनाउने रक्षा बन्धनले मौलिक, परम्परा र साँस्कृतिक महत्व समेत बोकेका प्रदेश प्रमुख कुँवरले उल्लेख गरेका छन् । सन्देशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको उल्लेख गरिएको छ ।

रक्षा बन्धनले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ । र प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव एकता, भातृत्व र अपनत्व एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख कुँवरले शुभकामना सन्देशमा भनेका छन् ।