चितवनको घुमाउनेघाट पुल निर्माण अलपत्र

चितवन, १४ चैत । चितवनलाई पोखरासँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशुली नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले पुल निर्माण गर्दा सडक भासिने भन्दै अवरोध गरेपछि निर्माणको काम अलपत्र परेको हो । घुमाउनेमा पुल निर्माण पश्चात नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरीभन्दा करीब २५ किलोमिटर छोटो पर्छ । अहिले मुग्लिन, आबुँखैरेनी, डुम्रे हुँदै दमौली पुगिन्छ । दमौलीबाट बुद्धसिंह मार्ग हुँदै चितवन जोड्ने सडकको ‘ट्रयाक’ खुलिसकेको छ । घुमाउनेमा पुल निर्माण भएपछि चितवन र पोखराको दूरी कम हुने आशमा रहेका नागरिक पुल निर्माणको काम अलपत्र हुँदा निराश भएका छन् ।

पुल निर्माणको लागि एक वर्ष अघि नै तनहँुतर्फको भागमा ‘पिल्लर’को जग खन्न शुरु गरिएपनि चितवन तर्फको नारायणगढ–मुग्लिन सडकमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको हो । “पुल निर्माणको काम अगाडि बढाउन तनहँुतर्फको भागमा कुनै समस्या छैन”, डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले भन्नुभयो, “चितवनतर्फको भागमा समस्या देखिएको हो ।”

निर्माणाधिन नारायणगढ–मुग्लिन सडक आयोजनाले घुमाउनेमा पुल निर्माण गर्दा सडक भासिन सक्ने भन्दै अवरोध गरेको उहाँले बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डतर्फ पुल कसरी बन्छ भन्नेमा अझै प्राविधिक छलफलमा रहेको काफ्लेले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक आयोजनालाई बाधा नपुग्ने गरी काम अगाडि बढाउनुपर्छ भन्नेमा विभाग रहेको उहाँले बताउनुभयो ।

पुल निर्माणका लागि तनहुँतर्फ जग खनिएपनि चितवनतर्फ खन्ने काम भएको छैन । पुल निर्माणले सडकलाई कुनै क्षति पुग्दैन भन्ने सुनिश्चितता दिलाउन ठेकेदारलाई पत्राचार गरिएको काफ्लेले बताउनुभयो । यदी सडकमा कुनै क्षति भएमा क्षतिपूर्ति दिएर पनि काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

घुमाउनेघाटमा १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने ‘मोटरेबल पुल’ सडक विभागको पुल महाशाखाले रु आठ करोड २६ लाखको लागतमा निर्माण ठेक्का सम्झौता गरेको हो  । विभागले पुल निर्माणको ठेक्का हेटौँडाको मृत सञ्जीवनी निर्माण कम्पनीलाई दिइसकेको छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा छ । मोटरेबल पुल नहुँदा घुमाउनेघाट वरिपारिका बासिन्दालाई आउजाउमा समस्या छ । गाडी आउजाउ गर्ने पुल नबन्दा मालसामान भरियालाई बोकाएर ओसारपसार गर्नुपर्ने बाध्यता छ ।

पुलको निर्माणपछि नारायणगढ आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिनसम्मको सडक प्रयोग गर्नु पर्दैन । मुग्लिङ–नारायणगढ सडक आयोजनाले अवरोध नगरेको भए यति बेलासम्म पुलको काम धेरै नै अगाडि बढिसक्ने मृत सञ्जीवनी निर्माण कम्पनीका प्रबन्धक गौरी उप्रेतीले बताउनुभयो ।

विभागबाट स्वीकृति प्राप्त गरेर काम शुरु भइसकेपछि पुल निर्माणमा अवरोध भएको उप्रेतीको गुनासो छ । विभाग अन्तर्गतका दुई कार्यालयको समन्वय नहुँदा निर्माणको काम अलपत्र परेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशलाई तराईसँग जोड्ने अहिलेको सडकमध्ये सबैभन्दा छोटो दूरीको सो सडकको पुल निर्धारित समयमै सम्पन्न गर्नुपर्ने तनहँु क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँले पुल निर्माणका लागि निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय दमौली, नारायणगढ–मुग्लिन सडक आयोजना र ठेकेदार कम्पनीसँग आफूले समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

घुमाउनेमा पुल निर्माणका लागि अवरोध नगरेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहित विसुरालको दाबी छ । उहाँले निर्माण सम्पन्न भइसकेको सडकलाई असर पर्ने देखिएकाले पुलको डिजाइन मागिएको तर निर्माण पक्षले अहिलेसम्म उपलब्ध नगराएको उहाँले बताउनुभयो । पुल निर्माण गर्दा सडकलाई असर पर्देन भन्ने प्रत्याभूति दिनुपर्ने उहाँको भनाइ थियो ।