संयुक्त पदस्थापन सम्पन्न

पोखरा ।

पोखरामा रहेका विभिन्न लायन्स क्लवहरु मध्ये क्लष्टर नं. १६ अन्तरगत रहेका क्लवहरु लायन्स क्लव अफ पोखरा फिष्टेल, फिष्टेल सिटी, पोखरा भद्रकाली, पोखरा माछापुच्छे«, पोखरा डल्फिन, पोखरा शान्ति स्तूपा चौतारी, पोखरा मेट्रोसिटी, पोखरा जयलक्ष्मी, पोखरा नर्सेस, पोखरा लामाचौर, गण्डकी स्टेट लगायतका क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, विशेष अतिथि पदस्थापन अधिकृत तथा डिष्ट्रिक गभर्नर ला.इन्दु लम्सालको उपस्थितिमा वर्ष १८।१९ का अध्यक्षहरुलाई विदाई र वर्ष १९।२० का अध्यक्ष लगायत सम्पूर्ण लायन साथीहरुलाई पदस्थापित गराउनुभएको थियो ।

उक्त अवसरमा नयाँ दुईवटा क्लवहरु लायन्स क्लव अफ पोखरा भिजिट र पोखरा भिजनको समुद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सामाजिक सेवामा समर्पित लायन्सहरु जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाई चरितार्थ गर्दै अगाडि बढ्न तर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

उक्त अवसरमा यस वर्षका डिष्ट्रिक गभर्नरको मुख्य नारा “नारी तथा युवा सशक्तिकरण” तथा महिला सम्मान कार्यक्रम अन्तर्गत क्लष्टर १६ ले काठमाण्डौको गोलढुङ्गामा जन्मिएर १६ वर्षको कलिलो उमेरमा उपचारको क्रममा आँखाको ज्योति गुमाएर पनि संघर्ष गर्दै देशविदेशमा एक कुशल मोटिभेटर तथा किनोट स्पीकरको रुपमा परिचित हुन सफल सृष्टि के.सी.लाई नारी सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा क्लष्टर १६ का क्लष्टर चिफ ला. अर्जुन बहादुर थापाले स्वागत मन्तव्य, रिजन चियरपर्सन ला. विष्णु बरालले सम्मानित व्यक्तित्वको परिचय, जोन चियरपर्सनहरु ला. खेमबहादुर क्षेत्री, ला. खिमलाल बराल र ला. बसन्तराज सिग्देलले आफ्नो भनाई राख्नुभएको थियो भने जोन चियरपर्सन ला. कालिदास पौडेलले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन ला. ऋषि गिरीले गर्नुभएको थियो ।