महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ ।

महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका महिला उद्यमी विकास उपसमितिका संयोजक रामकली खड्काले उद्घाटन गर्नुभयो । उहाँले सीप र क्षमताले नै महिलाहरुलाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सेनेटरी प्याड बनाउने तालीम सामाजिक भावनाले उत्प्रेरित रहेको बताउनुभयो ।

महिनावारीका कारण महिलाहरुमा हुने शारिरीक र मानशिक समस्या सल्टाउन सेनेटरी प्याडले महत्वपूर्ण भूमिका खेलको बताउँदै उहाँले घर वरपर रहेका खेर जाने कपडाबाट प्याड बनाउँदा त्यसले आय आर्जनमा पनि सघाउने उल्लेख गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले उद्यमशीलताको लागि तालीमहरुको महत्वबारे ब्याख्या गर्दै यो तालीमले महिलाहरुको आवश्यकता पूर्तिको अलावा आत्मनिर्भरतालाई पनि सघाउने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा कलेज अफ म्यानेजमेण्टका डा. चैतन्यराज अधिकारीले महिनावारीको बेला महिलाहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड बनाउने तालीमले आवश्यकताको संवोधनका साथै महिलाहरुलाई आत्मविश्वासी पनि बनाउने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक महासचिव चिनु गुरुङले तालीम आयोजनामा सघाउने संघ÷संस्था तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै तालीममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा जेसिजका अध्यक्ष सन्तोष शाही, प्रशिक्षक तथा प्याडम्यानको उपनाम पाएका ज्ञान महर्जनलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।