कास्की जिल्ला खेलकुदको नेतृत्वमा खातीको दावी

पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा युवा नेता जीवन खातीले दावी गरेका छन् ।

खातीले अर्थ तथा विकास समिति गण्डकी प्रदेशका वर्तमान सभापति दिपक कोईराला अध्यक्ष (वि.स.२०६८-२०७२) रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य रहेर चार वर्षीय कार्यकाल पूरा गरिसकेका छन् ।

सो कार्यकालमा हाल सञ्चालित पोखरा रंगशालाको बहुउद्देश्यीय कवर्डहल र रंगशालाभित्र अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम, लामाचौरस्थित गोस्थेघाट खेलमैदान, मालेपाटनस्थित बाराही स्कुलको खेलमैदान, भण्डारढिक रंगशालाको स्तरोन्नती लगायत खेलकुदको विकासका लागि थुप्रै कामहरु भएका थिए ।

उक्त समयमा जीवन खातीले उसु, बक्सिङ, शारिरिक सुगठन लगायतका क्षेत्रीय प्रतियोगिताको संयोजक भएर काम समेत गरेका थिए ।

क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य रहेर खेलकुदको क्षेत्रमा काम गरेको अनुभव र भविष्यमा पनि कास्कीमा खेलकुदको विकासको लागि केहि गर्नुपर्छ भन्ने उद्देश्यले कास्की जिल्ला खेलकुदको नेतृत्वमा आफूले दावी रहेको खातीको भनाई छ ।

उनले भने-“गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकिय दृष्टिकोणले मात्रै नभई खेलकुदको राजधानीका रुपमा चिनिन्छ, यस कुरालाई अझै सार्थक रुप दिनको लागि र अनुभवलाई नेतृत्वमा पुगेर काम गर्नको लागि मैले अध्यक्षको दावी गरेको हुँ ।”

अखिल नेपाल खेलकुद महासंघको हाल केन्द्रिय सचिव तथा गण्डकी प्रदेशको पूर्व संयोजक रहेका उनी तेक्वान्दो खेलको प्रशिक्षक तथा खेलाडी समेत हुन् ।

उनले पछिल्लो समय देशमा बढ्दो महिला हिंसा बढिरहदा सरकारी विद्यालयमा छात्राहरुको लागि आत्मरक्षाका लागि आत्मरक्षा तालिमको निशुल्क रुपमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।

जुन तालिम गण्डकी प्रदेशका सरकारी विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई प्रदान गर्ने गरि प्रदेश राजधानी पोखराका सरकारी विद्यालयबाट शुरु गरिएको छ ।

पूर्व माआवादी पार्टीका केन्द्रिय सदस्य, वाइसियल नेपाल कास्कीको पूर्व सहसचिव तथा हाल नेकपाको जिल्ला कमिटी सदस्य समेत रहेका उनी पार्टीका स्पष्टवक्ता, शालिन तथा इमान्दार र सामाजिक व्यक्तित्वका रुपमा चिनिन्छन् ।

स्मरण रहोस् कास्की जिल्ला खेलकुदमा निवर्तमान अध्यक्ष यामबहादुर गुरुङको चार वर्षीय कार्यकाल यहि साउन १२ गते सकिएपछि कास्की जिल्ला खेलकुद विकास समिती नेतृत्वविहिन भएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद पोखरामा हुने भएपछि अहिले कास्की खेलकुदको नेतृत्व पाउनु गौरवको विषय बनेको छ ।

कास्की जिल्ला खेलकुद खेलकुद गतिविधी मात्रै नभई खेलकुद बजेट र खेलकुद पूर्वाधार विकासका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

यी सबै गतिविधिहरु जिल्ला खेलकुद विकास समितिको प्रत्यक्ष निगरानीमा हुने गर्दछन्।