विन्ध्यवासिनीमा कक्षा ११ लाई स्वागत

पोखरा

बाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि.मा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत सहित सम्मान गरिएको छ । विद्यालयको समन्वय तथा कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा भएको स्वागत कार्यक्रममा व्यवस्थापन र शिक्षा संकायमा भर्ना भएका करिब १०० जना विद्यार्थीलाई स्वागत गरिएको +२ संयोजक माधव अधिकारीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा–१६, वडाध्यक्ष जीव्न प्रसाद आचार्यले जीवनोपयोगी शिक्षाले मात्र समाज परिवर्तन हुने बताउँदै जिम्मेवारी बोधका साथ अध्ययन गर्न सुझाव दिनु भयो । कार्यक्रममा प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, +२ संयोजक माधव अधिकारी, एकेडेमीक हेड भेषराज पौडेल, कक्षा १२ विद्यार्थी विराज मानन्धर र देव घर्तिमगर, मुस्कान सुनार, कक्षा ११ का विद्यार्थी द्वय जेनिशा छन्त्याल र इन्दु चाम्लिङ्ग राई बोलेका थिए ।

कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई वडाध्यक्ष जीवन प्रसाद आचार्य, समितिका अध्यक्ष चन्द्रा थापा, सदस्य हिरा पराजुली पौडेल, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेलले खादा र अविर लगाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने गीत, नृत्य, कविता, हास्यव्यङ्ग प्रस्तुत गरेका थिए ।