पोखरामा डेँगुका विरामीको संख्या बढ्यो

पोखरा ।

गण्डकी प्रदेशका विभिन्न जिल्ला र पोखरा महानगरपालिकाका वडाहरुमा डेँगु रोगका विरामी फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. ८ र ९ मा डेँगु रोगका विरामी फेला परेका हुन् । लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका विरामी पोखरामा फेला परेपछि सतर्क रहन क्षेत्रीय स्वास्थ निर्देशनालय पोखराले आम नागरिकलाई आह्वान गरेको छ ।

अहिलेसम्म पोखरा र आसपासका क्षेत्रमा गरी २१ जना व्यक्तिमा डेँगु रोग देखा परेको पोखरामा बिहिबार अयाोजित कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका एकिकृत चिकित्सक डा. भोजराज गौतमले जानकारी दिए । मानिसमा सामान्य ज्वरो आउने, जिउ हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने र आलस्य हुनेजस्ता लक्षण भएको खण्डमा चिकित्सकहरू समक्ष पुग्नुपर्ने डा. गौतमले बताए । एडिज एजिप्टाई र एडिज अल्बोपिटक्स नामको लामखुट्टेको टोकाईबाट डेँगु सर्ने भएकाले टोकाईबाट बच्नु नै प्रमुख उपाय भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्ने सरोकारवालाहरुले समुदायका हरेक व्यक्तिले जिम्मेवारी नलिएसम्म डेँगु कहिल्यै नियन्त्रणमा नआउने धारणा राखे । पोखरा महानगरपालिकाको वडा नं ८ का एक व्यक्तिलाई उपचारको क्रममा डेँगु भएको पाईएपछि निर्देशनालयले यसबारे थप चासो देखाएको थियो । जस अन्र्तगत यहि साउन १६ गतेदेखिनै विभिन्न कार्यक्रमहरु गर्न सुरु गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले बताए । उनका अनुसार टोल टोलमा लामखुट्टे नष्ट गर्ने अभियान, सरोकारवालासंग समन्वयात्मक बैठक, तथा जनचेतनामूलक अभियान गरिएका छन् ।

विभिन्न मानिसको शरीरमा विभिन्न चार प्रकारको रूप धारण गर्न सक्ने डीइएन वान, टु, थ्री, र फोर भाइरसको सङ्क्रमणबाट यो रोग मानिसमा स्थापित हुने गरेको सो अवसरमा बताईएको छ । पानी जम्ने ठाँउ, एयर कन्डिसन, फूलका गमला, पुराना टायर, नारिवलका खोस्टा, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलने सम्भावना रहने । उक्त प्रजातिका लामखुटटे मुख्यत सफा पानीमा फैलने भएकोेले फोहोर नालीहरू भएको ठाउँहरूभन्दा घर र घर आसपासका पानी जम्ने पुराना भाँडाकुँडामा बस्ने लामखुटटेबाट यो रोग फैलने सम्भावना भएकोले मानिसलाई नै यो रोग फैलनुको बढी जिम्मेवार मानिएको छ ।

आफ्नो घर सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय भएको र लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्ने र सबै एकजुट भएर अभियानमा सघाउन समेत निर्देशनालयले आग्रह गरेको छ । रोग लागिसकेपछि प्रायः यसको विशिष्ट प्रविधिको उपचार नभएको र खोपको विकास समेत नभएकाले समयमै अस्पताल जानुपर्ने र आँफूखुसी दुखाई कम गर्ने औषधि नखान पनि सल्लाह दिईएको छ ।