बाख्रापालक कृषकलाई महानगरको अनुदान

पोखरा ।

पोखरा–२८ का बाख्रापालक कृषकलाई व्यावसायीक बाख्रापालनका लागि महानगरपालिकाले अनुदान वितरण गरेको छ । पोखरा–२८ स्थित ५० घर बाख्रा पालक कृषकलाई जनही ४० हजारका दरले रु. २० लाख रुपैंया महानगरले वितरण गरेको हो ।

स्थानीय व्यावसायीक बाख्रा पालन समिति र वडा नं. २८ को समन्वयमा वडा कार्यपालिकाको कार्यलय–२८ मा आयोजित एक कार्यक्रमका विच बुधबार महानगरका प्रमुख मान बहादुर जिसीले सो अनुदान वितरण गर्नुभएको हो ।

वितरण समारोहमा प्रमुख जिसीले अनुदान रकम जीवनस्तरको गर्जो टार्ने मात्र नभई कृषकहरुलाई व्यावसायीक बनाउन समेत उपयोगी हुने धारणा राख्नुभयो । कार्यक्रममा वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रा सहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकता तर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताउनु भयो ।

स्थानीय प्रजातीका बाख्राहरुको पालन र प्रवद्र्धनमा समेत अनुदान फलदायी हुने उहाँको धारणा थियो । पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरु आगामी दिनहरुमा समेत निरन्तर रहने बताउनुभयो । व्यावसायीक बाख्रा पालनका लागि महानगरले पोखराका १९ र २८ नम्बर वडाका कृषकहरुलाई अनुदान वितरण गर्नेछ ।