रोटरी क्लब अफ पोखरा फिस्टेलद्धारा १७ विद्यार्थीलाई छात्रावृत्ति प्रदान

पोखरा ।

रोटरी क्लब अफ पोखरा फिस्टेलले करिब ३ लाख ५८ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरि कास्की जिल्लाभित्र रही सरकारी विद्यालयमा अध्ययन गर्ने १७ जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराईएको हो ।

रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष अर्जुन थापाले विगत ११ बर्षदेखि यस क्लबले फिस्टेल फण्ड मार्फत आयस्तर न्युन भएका विद्यार्थीहरुलाई सहयोग गर्दै आएकोे जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको क्लबले पढाईमा अब्बल तर घरपरिवारको आम्दानी न्युन रहेका विद्यार्थीहरुको भविष्य निर्माण गर्नका साथै गुणस्तरीय शिक्षाबाट बञ्चित नहोस् भन्नका निम्ति सो कार्यक्रमको थालनी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै फिस्टेल फण्डका संयोजक विनोद कोइरालाले हालसालै एसईई उत्तीर्ण गरेका १३ जना, नर्सिङ् अध्ययन गर्दै गरेकी १, ईन्जिनियर अध्ययन गर्दै गरेका १ र प्राविधिक शिक्षा लिईरहेका २ जनालाई उच्च शिक्षा हासिल गर्नका निम्ति सहयोग गरिएको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै क्लबका ट्रष्टी मेम्भर जयन्द्र गौचनले आजका बालबालिका भोलीका कर्णधार रहेको भन्दै क्लबले सामाजिक काममा देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । बालबालिकाको क्षेत्रमा गरेको लगानीले विद्यार्थीहरुको जिवनमा सकरात्मक प्रभाव पार्ने उहाँको भनाई थियो ।