गण्डकी प्रदेश सरकारद्धारा कर्मचारीको भ्रमणका लागि बजेटको व्यवस्था

पोखरा ।

जनप्रतिनिधिको तलव भत्ता र सवारी साधन लगायतका सेवा सुविधा बृद्धिका कारण आलोचना भइरहेको गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ ।

हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरले उपलब्ध गराउने गरी बजेट व्यवस्था भएको उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गरेको कार्यक्रममा मन्त्री लम्सालले यस्तो जानकारी दिनुभएको हो ।

नेपालभित्रका जुनसुकै स्थानमा जान पाउने र भ्रमणपछि उक्त स्थानको फोटो तथा भ्रमण प्रतिवेदन पेश गर्नुपर्ने मन्त्री लम्सालको भनाई रहेको छ । कार्यालयमा काम गर्दा हाई काढेर बस्ने अवस्था रहेको भन्दै रिफ्रेसमेन्टका लागि कर्मचारीहरुको भ्रमणको व्यवस्था मिलाउन लागिएको मन्त्री लम्सालको भनाई छ ।

गण्डकी प्रदेशमा २२ सय कर्मचारीको दरवन्दी रहेकामा १७ सय कर्मचारी अहिले कार्यरत रहेका छन् । यदी सबै कर्मचारीले भ्रमण सुविधा उपयोग गरे भने झण्डै ५ करोड रुपैयाँ खर्च हुने देखिन्छ । यसअघि गण्डकी प्रदेशले जनप्रतिनिधिको भत्ता बढाएको थियो भने सांसदले पिए राख्न पाउने तथा स्थानीय तहका प्रमुख उपप्रमुखले सवारी साधन लिन पाउने व्यवस्था सहित ऐन संशोधनको निर्णय गरेको थियो ।