१२ दलित परिवारको निःशुल्क स्वास्थ्य बिमा

पोखर ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका दलित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले उनीहरुको लागि स्वास्थ्य बिमा गराएको हो ।

हालै एक कार्यक्रमका बीच परियार टोलका गरिब तथा विपन्न १२ दलित परिवारको एक वर्षको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बिमा कार्ड हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

कूल २० परिवारको बसोबास रहेको सो टोलका आठ परिवारको यसअघि नै गाउँपालिकाले निःशुल्क बिमा गरेकोमा बाँकीको लायन्स क्लबले बिमा गरिदिएपछि दलित परिवारमा खुशीयाली छाएको क्लबका बिमा कार्यक्रम संयोजक यम जिसीले जानकारी दिए । शिक्षा तथा अवसरबाट पछाडि परेका परियार जातिको मात्र बसोबास रहेको सो टोलका केही युवाहरु वैदेशिक रोजगारीमा छन् भने अधिकाँशले कृषि पेशा अँगालेका छन् ।

कम अवसर प्राप्त गरेका दलित समूदायलाई स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चित गर्नका ४२ हजारबाट एक वर्षको स्वास्थ्य बिमा गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बरालले राज्य एक्लैको प्रयासबाट मात्र सुखी नेपाली समृद्ध नेपालको सपना पूरा नहुने भएकाले सामाजिक संघसंस्था तथा क्लबहरुले पनि सामाजिक कार्य मार्फत सरकारलाई लक्ष्य प्राप्तिमा सहयोग गर्नुपर्ने भनाई राखे ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि देशमा नयाँ शासन प्रणालीको विकास भएको बताउँदै सांसद बरालले भने ‘अहिले हामी नितान्त नौलो अभ्यासमा छौं । फरक राज्य प्रणालीको अभ्यासमा छौँ, हाम्रो सोच पनि नयाँ हुनुपर्दछ । लायन्स क्लबको ध्येय राज्यलाई सहयोग पु¥याउने हुनु आवश्यक छ ।’

सांसद बरालले दलित बस्तीमा आएर लायन्स बिमा गर्दा बस्तीमा प्रेरणा दिने काम गरेको बताए । गाउँपालिका अध्यक्ष कर्ण गुरुङले वर्षको रु तीन हजार ५०० सयको बिमाबाट नागरिकलाई रु एक लाखसम्मको ऋणबाट मुक्त गर्न सकिने बताउँदै यस वर्ष पनि गरीब तथा विपन्न परिवारको बिमाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको स्पस्ट पारे ।
अहिलेनै नगद हातमा परेन भन्ने स्थानीयलाई लाग्न सक्ने बताउँदै अध्यक्ष गुरुङले १२ घरपरिवारलाई रु १२ लाखको लगानी क्लबको तर्फबाट भएको उनको भनाई छ । पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार ५०० तिरेर बिमा गरेपछि तोकिएका अस्पतालबाट वार्षिक रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष सूर्यप्रसाद लम्साल, क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, जोन चियर पर्सन ठाकुरप्रसाद अधिकारी, कार्यक्रमका मुख्य सहयोगी तथा माइकल ग्रिल्स न्युरोडका सञ्चालक रमेश तिवारी, क्लबका उपाध्यक्ष विश्वास भण्डारी, सचिव विकास भुर्तेल, कोषाध्यक्ष लेखबहादुर जिसी, कार्यक्रम संयोजक यम जिसी, रेनु थापा, आरती अधिकारी, लोकनाथ भण्डारी लगायतले कार्यक्रमका बारेमा भनाई राखेका थिए । सोही अवसरमा विभिन्न प्रजातिका वृक्षहरु रोपिएको थियो ।