पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै

पोखरा ।

पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ । जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको छ । पोखरा आएका कलाकारहरु यतिबेला रिर्हसलमा ब्यस्त छन् ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाको खण्डकाब्य मुनामदनमा आधारित यो नाटकमा सरु कटुवाल, लकेश दंगोल, अनु श्रेष्ठ, निराशा ढुंगेल, सन्देश बाराकोटी, नवराज नेपाल, मिलन चाम्लिङ, नवराज गिरी, एन्जल बस्नेत, नुना कट्टेल र आशुतोष कोइरालाको अभिनय रहनेछ । नाटकको निर्देशन सविन कट्टेलले गर्दैछन् । नाटकको नाट्य रुपान्तरण कटुवाल दिपकले गरेका हुन् । विवेक आचार्य र नगेन्द्र खड्काले व्यवस्थापकको जिम्मा पाएका छन् ।

हरेक साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार अतिरिक्त सो मार्फत दिउँसो १ बजे र बुकिङ सो मार्फत थप मञ्चन हुनेछ । विराटनगरको विराट आदर्श साहित्यिक मञ्च नाटक मञ्चनका लागि पहिलोपटक पोखरा आएको हो । नाटक हेर्न तीन सय र पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा दुई सय रुपैयाँ शुल्क लाग्नेछ । पोखरेली दर्शकको माया र साथ पाउनेमा आफु आशावादी भएको नाटकका निर्देशक सविन कट्टेलले बताए । यसअघि यो नाटक विराटनगर र काठमाण्डौमा मञ्चन भइसकेको विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कटुवाल दिपककले जनाए ।