फेवा महोत्सवको तयारी तिब्र

पोखरा, १४ चैत l नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिंदै पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई केन्द्रमा राखी पोखराको कोमागाने पार्कमा चैत २९ देखि आगामी बैशाख १ गते सम्म तीन दिने महोत्सव आयोजना गर्न लागिएको महोत्सव संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित आयोजना हुन लागेको महोत्सवमा विशेष गरी देश विदेशमा प्रबद्र्धनका लागि छानिएका विभिन्न २५ खानाको प्रस्तुती र विक्रीवितरण हुने छ । यसबाहेक गण्डकी प्रदेशका विभिन्न चार वटा खानालाई पनि सँगै प्रस्तुत गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।