क्यान कास्कीद्वारा तालिम समापन, पुस्तक बिमोचन, ट्राफिक भवनलाई सहयोग

पोखरा ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीद्वारा प्रकाशित विभिन्न पुस्तकहरुको बिमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ‘कम्प्युटर प्रोफेसन बुक’ बिमोचन गरिएको हो ।

सचिव विकास भुर्तेलको संयोजकत्वमा प्रकाशित हार्डवयर तथा नेटवर्किङ पुस्तक र सहसचिव सेवक क्षितिजको संयोजकत्वमा प्रकाशित वेवपेज डिजाइनिङ पुस्तकको बिमोचन गरिएको छ । सदस्य महेन्द्र भुर्तेलको संयोजकत्वमा प्रकाशित कम्प्युटर प्रोफेसनल वानको नयाँ संस्करण पनि सोही अवसरमा बिमोचन गरिएको छ ।

यसैबीच, क्यान कास्कीद्वारा आयोजित वेजपेज डिजाइनिङको प्रशिक्षण पनि शनिबार नै सम्पन्न भएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए । तालिमको प्रशिक्षकहरुमा दीपकराज गिरी, सुनिल पाण्डे, महेन्द्र भुर्तेल, हरि शर्मा रहेका थिए । क्यानका सदस्य संस्थाहरुमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने तथा सिप सिकाउने लक्ष्यसहित तालिम आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । तालिम समापनसहित सम्पूर्ण कार्यक्रमको संयोजन उपाध्यक्ष विश्वास भण्डारीले गरेका थिए ।

ट्राफिक भवनलाई आर्थिक सहयोग
जिल्ला ट्राफिक कार्यालय कास्कीको नवनिर्मित भवनका लागि क्यान कास्कीले आर्थिक सहयोग गरेको छ । शनिबार आयोजित सोही कार्यक्रममा ५० हजार रुपैयाँ भवन निर्माण समितिका संयोजक दिलीपराज श्रेष्ठ अध्यक्ष, सचिव शिव थापालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले क्यान कास्कीले सूचना तथा प्रविधिका क्षेत्रमा धेरै रचनात्मक कार्यक्रम गरेको बताए । सूचना प्रविधिका क्षेत्रमा उद्योग वाणिज्य संघले क्यान कास्कीसँग सहकार्य गर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै ट्राफिक भवन निर्माण समितिका संयोजक दिलीपराज श्रेष्ठले क्यान कास्कीको सहयोग महत्वपूर्ण रहेको बताए । ‘सबैको साथ र सहयोगबाट भवन निर्माणको काम अगाडि बढिरहेको छ,’ उनले भने । कार्यक्रममा क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, क्यान कास्कीका पूर्व अध्यक्षहरु चण्डिप्रसाद अर्याल, राजेन्द्रकुमार श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट मुकुन्द योगी, प्रशिक्षकको तर्फबाट सुनिल पाण्डे लगायतले बोलेका थिए । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्वास भण्डारीले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए ।