जनप्रतिनीधिहरु कमाउधन्दामा लागे ः साझा पार्टी, गण्डकी

पोखरा ।

साझा पार्टी, गण्डकीले यस प्रदेशमा जननिर्वा्चित प्रतिनीधिहरुलाई दोहोरो सुविधा दिने गरि प्रदेश सरकारले गरेको निर्णयको विरोध गरेको छ ।

जनप्रतिनीधिहरु विकास निर्माण र नीति निर्माणमा लाग्न छाडेर कमाउधन्दामा लागेको साझा विवेकशीलको आरोप छ । साझा पार्टी, गण्डकी सँयोजक महेश भण्डारीले आईतबार प्रेस विज्ञप्ती जारी गर्दैै प्रदेश सरकारको यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । ‘

जननिर्वा्चित प्रतिनीधिहरुले दोहोरो सुविधा लिन पाउने निर्णयले कदापी कसैलाई हित गर्दैन । ज जसले यस्तो सुविधा लिन्छन्, उनीहरुलाई मात्रै फाइदा हुन्छ । के सरकारले केहि व्यक्तिको लागि निर्णय गर्ने हो ? वा, जनहितमा हुने कुराहरु उसका प्राथमिकतामा पर्छन् ?’प्रेस विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा यो निर्णय मुख्यमन्त्रीको व्यक्तिगत तथा उनी पक्षधर समूहको लाभका लागि मात्र गरिएको तर्क समेत गरिएको छ । ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीकी श्रीमतीले यसअघि पनि दोहोरो सुविधा लिँदै आएको कुराहरु नसुनिएका होईनन्। र, यही प्रदेशमा जननिर्वा्चित प्रतिनीधिहरुले दोहोरो सुविधा लिन पाउने गरि मन्त्रीस्तरिय निर्णय आउनुले अझै दुविधा उब्जाएको छ।

के मुख्यमन्त्रीले व्यक्तिगत र सामुहिक लाभ हुने भएकैले यस्तो निर्णय गराएका त होईनन् ? होईन भने कहिँ नभएको यस्तो मनपरि निर्णय गण्डकी प्रदेशमा मात्रै किन आउँछ ?’ विज्ञप्तीमा प्रश्न गरिएको छ । प्रदेश सरकारको पछिल्लो निर्णयलाई लिएर धेरै विवाद उठेको छ । कतिपयले यो निर्णयको बचाऊ पनि गरेका छन् । यद्यपि धेरै संख्यामा यो निर्णयको विरोध गर्ने जमात देखिएको छ ।