पोखराको विजयपुर खोलामा साउन १० भित्र बेलीब्रिज बनिसक्ने

पोखरा ।

पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा बेलिब्रिज निर्माणको काम आगामि साउन १० भित्र सकिने भएको छ । बेलिब्रिजको निर्माणका लागि आवश्यक निर्माण सामाग्री सबै अनलोड भएको र जडानको काम अगाडि बढेको निर्माण कम्पनीले जनाएको छ ।

बेलिब्रिजका लागि आवश्यक निर्माण सामग्री विहीबार विहानै आइपुगेको हो । सामान आइपुगेसँगै विहीबारबाटै पुल जडानको काम शुरू भइसकेको छ । पुल जडानको काम ७ भित्र सक्ने गरी भइरहेको सव इन्जिनियर किरण सुवेदीले जानकारी दिनुभयो ।

पुलको जडानको काम सकिएपनि दुवैतर्फ सडक मिलाउनुपर्ने भएकाले बढीमा साउन १० सम्ममा पुल सञ्चालनमा आउने सुवेदीको भनाई छ । सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज बनाउन लागिएको हो ।

सडक डिभिजन कार्यालय पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज निर्माणको काम भइरहेको छ । बर्खालाई ख्याल गर्दै ठेकेदार कम्पनीले तदारुकताका साथ काम गरिरहेको सडक डिभिजन कार्यालयका सहायक इन्जिनियर श्रीकृष्ण वरालले जानकारी दिनुभयो ।

बेलिब्रिज अस्थायी प्रकृतिको पुल हो । २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज निर्माण हुदैछ । पुलको भारबहन क्षमता भने १ सय टन हुने डिभिजन कार्यालयले जनाएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा÷जेजे (जेभी)ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको हो ।

असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको छ ।

अहिले विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ । सवारीको अत्यधिक चापका कारण बढेको जामले ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ ।