सफल सहकारीको मानव सेवा आश्रममा सहयोग

पोखरा, १३ असार
पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना बरावर १७ हजार पाँच सय रुपैया नगद सहयोग गरेको हो । आश्रममा आज आयोजित एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष हरिप्रसाद बास्तोलाले आश्रमका सहसंयोजक राजन सापकोटालाई सो रकम हस्तान्तरण गर्नुभयो ।

डेढ महिने शिशुदेखि ९० बर्ष उमेर समूहका ९० जना आश्रित व्यक्ति एवम् सात जना सेवकसेविका रहेको आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । खुला आकाशमुनि सडकका किनारा एवम् सार्वजनिक स्थालमा कष्टपूर्ण जीवन यापन गर्न वाध्य समाजका असहाय तथा मनोरोगी मानिसको उद्धार गरि पालन पोषण संरक्षण एवम् पारिवारिक वातावरण संस्थाले प्रदान गर्दै आएको छ ।

२०७४ साल चैत महिनामा स्थापित भै सञ्चालनमा आएको संस्थाले हालसम्म खुला आकाश मुनि सडकमा मागी खाने र मनोरोगी दुई सय ५५ जनाको उद्धार गरेको र ती मध्ये ८० जनालाई घर परिवारमा पुर्नस्थापित गरिएको संयोजक तिमिल्सिनाले जानकारी दिनुभयो ।

सो अवसरमा सहकारीका संचालक समितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक एवम् सदस्यहरुले आश्रममा आश्रित सम्पूर्ण परिवारलाई भोजन गराउनु भएको थियो ।