म विरुद्ध केही घटना भईहाल्छ की भन्ने सोचेर राजदूतले तयारी गरेका रहेछन् : प्रचण्ड

काठमाडौं, १४ चैत । झन्डै दुई साताको अमेरिका बसाईपछि विहीबार काठमाडौं फर्किएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीताको उपचारका लागि भ्रमण फलदायी भएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने,‘तीन वटा अस्पतालमा देखायौं, सिंगापुरको रिपोर्टका आधारमा नै उपचार पद्दती सही भएको भन्ने भयो । र, केही नयाँ औषधि लिएर पनि आएका छौं ।’

‘त्यस्तो हुनेवाला त केही थिएन । तर, मलाई थाहा दिइएको थिएन । उता ओर्लँदा पनि राजदूतले केही घटना भई पो हाल्ने हो की भनेर फर्काउन सकिने गरी तयारी गरेका रहेछन्’, अमेरिका पुग्ने क्रममा उनीविरुद्ध उजुरी परेको विषयलाई पुष्टि गर्दै भने,‘तर यताबाट जाँदै अमेरिकी सरकारले नो इन्भेष्टिगेशन भिसा दिएका कारण त्यो समस्या थिएन ।’

उनले आफूविरुद्ध पक्राउको हल्ला समाधानका लागि उजुरी परेको मेरील्यान्ड राज्यमा नै पुगेको अनुभव सुनाए । अमेरिकाको मध्य एसीया हेर्ने मन्त्रीसँगको भेटका क्रममा पनि उच्च राजनीतिक तहमा वार्ता हुने विषयमा कुराकानी भएको उल्लेख गरे ।

अमेरिकाको इन्डो प्यासिफिक रिजन कार्यक्रमका सन्दर्भमा पनि केही कुरा भएको उल्लेख गरेका प्रचण्डले ‘अन्यले सोचेजस्तो त्यति ठूलो विषय नभएको’ जवाफ अमेरिकाबाट पाएको बताए ।