’मन्त्रिमण्डल पुनर्गठन हुँदैछ’– प्रचण्ड

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्ने बिषयमा छलफल भएको बताएका छन् । बजेटपछि पुनर्गठन गर्ने बिषयमा प्रधानमन्त्री केपी ओली संग गम्भीर रुपमा छलफल भइरहेको भन्दै उनले यसको सम्पूर्ण अधिकार प्रधानमन्त्रीलाई दिइएको बताए । त्यस्तै उनले पार्टी एकताका लागी यसअघि भएका सहमति र सम्झौता बिपरित जाने छुट कसैलाई नभएको स्पष्ट पारे ।

प्रेस संगठन नेपालले कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफुहरु गम्भीर भएको जिकिर गरे । पार्टी र सरकार सञ्चालनका लागी भएको सहमति पुरानो भएको भन्दै अहिले नै सरकारको नेतृत्वको संभावना नरहेको उनले बताए । उनले भने, ’पार्टी र सरकार सञ्चालनका लागी भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो बिषयलाई चर्चा र विवादमा ल्याउन कोहि नै कोहि खेलिरहेको छ । ’ उनले ओली नेतृत्वको सरकार पाँच बर्ष नै चल्न सक्ने अभिव्यक्तिलाई बङ्ग्याइएको बताए । ’अहिले हामी छलफलमा नै छौ ।

पार्टीलाई मिलाउने प्रक्रिया महान हो, यसलाई सफल पार्ने कुरा मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग जोडिएको छ ।’ उनले भने । त्यस्तै उनले विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको स्पष्ट पारे । फरक प्रसंगमा उनले गुठी बिधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भने, ’गुठि सम्बन्धीत बिधेयकमा नया शिराबाट अघि बढ्छ । सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरि बिधेयक आउछ ।’ प्रचण्डले बिधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको स्वीकार गरे । उनले भने, ’बिधेयक निर्मणका बेला सरोकारवालाहरु र पार्टी तथा सरकारभित्र पनि संग छलफल र गृहकार्य नभएका कारण विवादमा आएको हो, अन्य बिधेयकहरु पनि संसदीय प्रक्रियाबाटै परिमार्जन र संशोधन भएर अघि आउछ । ’