मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गर्न नरोकिएपछि समितिले दियो कडा निर्देशन

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेशमा मापदण्ड विपरित सञ्चालन भएका क्रसर उद्योग तुरुन्त बन्द गर्न गराउन कडा निर्देशन दिएको छ ।

समितिको स्थलगत अध्ययन अवलोकनका क्रममा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन भएका तथा क्रसर उद्योग सम्वन्धी कार्यविधी कार्यान्वयनको अवस्था सन्तोषजनक नदेखिएको तथा अझै व्यापक जनगुनासाहरु भईरहेकोले समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कार्यविधी पूर्ण कार्यान्वयन गराउन पत्रमार्फत निर्देशन समेत दिएको छ ।

समितिका सभापति दिपक कोईरालाद्धारा विहिवार जारी पत्रमा भनिएको छ,-“प्रस्तुत विषयमा अर्थ तथा विकास समितीको २०७५ फागुन ९ मा प्रादेशिक अनुगमन समितीका संयोजक समेतको उपस्थितीमा बसेको बैठकमा आवश्यक छलफल भई ढुंगा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ र विक्रि वितरण तथा क्रसर उद्योग स्थापना र संचालन गर्न व्यवस्थित गर्ने सम्वन्धी कार्यविधी,२०७५ पूर्ण कार्यान्वयन गराउन निर्देशन भएकोमा समितीको स्थलगत अध्ययन भ्रमणमा कार्यविधी कार्यान्वयनको अवस्था सन्तोषजनक नदेखिएको तथा अझै व्यापक जनगुनासहरु भईरहेको हुदा सो सम्वन्धमा समितीको ध्यानाकर्षण भएको जानकारी गराउँदै कार्यविधीको पूर्ण कार्यान्वयन गर्न गराउनुहुन निर्देशन गर्दछु ।”
समितिले म्याग्दी ,बाग्लुङ र पर्वतमा संचालित उद्योगहरुको स्थलगत अध्ययन समेत गरेको थियो ।

स्मरण रहोस उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत साउन ३० गते क्रसर उद्योग सम्वन्धी कार्यविधी तयार पारी ३ महिनाभित्र कार्यविधिभित्र रहेर क्रसर उद्योग सञ्चालन गर्ने भनेर निर्देशन दिए पनि अधिकांश क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालन भएका छन् ।