पोखराका एचआइभी संक्रमित गोपालद्वारा सगरमाथामा नयाँ कीर्तिमान

जेष्ठ ०८, पोखरा ।

पोखरा निवासी ५६ वर्षिय गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआइभीबाट संक्रमित थिए । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।


उनी एचआइभी संक्रमित सगरमाथा चढ्ने पहिलो विश्व कीर्तिमानी भएका छन् । अझैपनि हाम्रो हाम्रो समाजमा एचआइभी संक्रमितहरुलाई नकरात्मक दृश्टिकोणले हेर्ने प्रचलन रहेको छ । तर संक्रमितहरुलाई दया, माया वा हेला नभई अवसर र सहभागिताको अनुकूल वातावरण भए तिनले पनि अरु सामान्य मानिसले झैं आफ्नो परिवार, समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि केही गर्न सक्ने पुष्टि समेत उनले गरेका छन् ।

एचआइभीबाट संक्रमित ब्यक्ति पनि स्वस्थ व्यक्ति जस्तै लामो समय बाँच्न मात्र होइन साहसिक काम पनि गर्न सक्छन भन्ने उनी उदाहरण बनेको उनका सहयोगीहरुले जनाएका छन् ।

उनले यसअघि पनि प्रयास नगरेका होइनन् तर सन् २०१५ को भयानक भूकम्पका कारण सगरमाथा आधार शिविरमा घाइते भएकोमा उनको उद्धार गरिएपछि सगरमाथा आरोहण त्यतिबेला अवरुद्ध भएको थियो ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि. का फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।