प्रकाश बराल भन्छन्, ‘कास्की-३ (ख) मा ब्रेक थ्रु हुन्छ, नयाँ नतिजा आउँछ’


पोखरा । आशन्न मंसिर ४ को निर्वाचन अन्तर्गत कास्की-३ (ख) मा विशेषगरि दुई युवाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । संयुक्त गठवन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल डेब्युको तयारीमा छन् भने नेकपा एमालेका राजीव पहारी दोश्रो कार्यकालका लागि तयारीमा छन् । बराल गठवन्धनबाट ढुक्क छन् भने पहारी एमालेको संगठन बलियो भएकाले कसैले हराउन नसक्नेमा ढुक्क छन् । 

स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा दुवै पक्षबीच निकै कडा प्रतिस्पर्धा छ । यस क्षेत्रका केही वडामा माओवादीले आफ्ना उम्मेद्वार उठाएको थियो भने धेरै वडामा उम्मेद्वार थिएनन् । यो क्षेत्रमा पर्ने वडाहरुको मत हेर्दा नेपाली कांग्रेसले १४ हजार ५७ र एमालेले १४ हजार ९२९ मत पाएको थियो । गठबन्धनभित्रका दलहरुले पाएको मतसमेत जोड्दा बराल पहारीभन्दा केही अगाडि देखिन्छन् ।

‘निर्वाचन हो जे पनि हुन सक्छ । माननीयज्यू परीक्षण भइसक्नुभयो । नयाँ योजना लिएर म जनताका आएको छु’, मंगलबार कास्कीको लान्द्रुक पुगेका बराल भन्छन्, ‘पहिलो कुरा गठवन्धनको मत केही बढी छ, दोश्रो कुरा जनताका लागि म नयाँ भिजन लिएर आएको छु र तेश्रो कुरा मैले २० वर्षदेखि कुनै न कुनै तवरबाट युवा पिंढीका साथै जनतासंग जोडिंदै आएको छु ।’

आफूले झुट बोल्न नजान्ने भएकाले पनि आफूले निर्वाचन जित्न सहज हुने उनको आँकलन छ । उनले भने, ‘डेढ दशक सरकारी सेवासहित करिब २० वर्ष जनताको सेवा गरें । कहिल्यै झुट बोल्नु परेन, नहुने र नपुग्ने कुरा पनि गर्दै गरिन । अहिले निर्वाचनमा पनि मैले नसक्ने कुरा गरेको छैन ।’ ‘यसअघिका माननीयको काम जनताले देखिसकेका छन्, भोगिसकेका छन् । उनले गर्न सक्नेजति गरिसक्नुभयो,’ उम्मेद्वार बराल भन्छन्, ‘यसपालि ‘ब्रेक थ्रु’ हुन्छ । नयाँ नतिजा आउँछ ।’ 

‘कास्कीकोट, अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाहरुमा अहिले पनि खानेपानीको चरम समस्या छ’, उनले भने, ‘यसअघिका मानीनय निर्वाचित भएकै साता पानी पुर्याउने भन्दै पाइप बोकेर कास्कीकोट पुगेको भन्ने सुनेको थिएँ । तर हालसम्म समस्या ज्युँका त्युँ रैछ ।’ 

मंगलबार बिहान कास्कीकोटका मतदाता सामु उम्मेद्वार बरालले भने, ‘अब यी समस्या मेरो पनि हो । मेरा बुबा-आमालाई धेरै दिन समस्यामा राख्दिन । पानी बोक्दा आमाका ढाडका खाला अब जाँदैनन् । यहाँका गाईबाख्रा र कुखुराले पनि मज्जाले पानी पिउन पाउँछन् ।’

साथै बरालले कास्कीकोटको गुण्टीचौरदेखि वडा कार्यालयसम्मको सडक पिच गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘सडकका कारण बुबा आमाले धेरै दुःख पाउनुभो । वडा कार्यालयमा काम परेर जान पनि निकै कठिन भयो । यो काम सांसदको मात्रै नभए पनि सडक पिच बनाउन कम्मर कसेर लाग्छु ।’

बाँदरको समस्यामा सबै गम्भीर हुनुपर्नेमा उनको जोड छ । अहिले नै बाँदरको समस्या समाधानका लागि कहाँ के गर्न सकिन्छ त्यसमा आफ्नो ध्यान केन्द्रित हुने उनले स्पष्ट पारे । 

मत परिवर्तन गर्दै मतदाता 

पाँच वर्ष अघि कास्कीकोटका जनताको सपना खानेपानी र सडक पिच थियो । खानेपानीको समस्याबाट पीडित उनीहरुले अब त पानी आउँछ भन्दै ठूलै आश गरेका थिए । गत चुनावमा उम्मेद्वारले खानेपानी र पिच सडकका बारेमा ठूलै भाषण ठोकेका थिए । नेताहरुले गाउँमा बाँदरको समस्या पनि समाधान गरिदिन्छौं भनेर आश्वासन दिएका थिए । उम्मेद्वारका भाषण जनताले पत्याएर मत दिएर पठाए । तर पाँच वर्ष बित्यो न खानेपानी आयो न सडक पिच भयो । बाँदरको समस्या झनै बढेर गएको छ ।

‘चुनावका बेलामा धारामा पानी पनि आउँछ । गाउँमा पिच बाटो पनि आउँछ भन्छन् । चुनाव सकिएपछि न धारामा पानी, न कालोपत्रे सडक । पानी ल्याउँछु भन्ने पनि फर्केर आउँदैनन्,’ कास्कीकोटका एक स्थानीय भन्छन्, ‘यसपालि धेरै सोचेर मात्रै भोट हाल्छौं । हाम्रा अवस्थामा परिवर्तन नआए जसलाई जिताएपनि के भयो र ?’ पछिल्लो पाँच वर्ष त्यसै खेर गएको उनीहरुको अनुभव छ । 

‘हिजो भोट माग्दा बाँदर लखेट्छौं भन्थे । किसानलाई अनुदान दिन्छौं, उत्पादन जति किनिदिन्छौं भनेका थिए,’ सल्यानका एक स्थानीयले भने, ‘अहिले बारीमा खेती लाउन पाईंदैन । बाँदरले खेती सखाप बनायो । अलिअलि भित्र्याएको पनि भकारीमै कुहियो । बेच्ने ठाउँ छैन ।’ 

नयाँ योजना बनाउने भन्दा भैरहेका योजना स्तरोन्नतिमासमेत जनप्रतिनिधिले चासो नदिएपछि यो पटक फरक व्यक्तिलाई निर्वाचित गराउने उनको सोंच छ ।