संविधान च्यात्ने दुष्प्रयास भएको थियो, कार्यान्वयन गर्न आएको छु– लामिछाने

पोखरा, २१ कात्तिक

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) मा ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधान कार्यान्वयन र विकासका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका २१ मा सञ्चालित चुनवी अभियानका क्रममा मतदातासँग उनले यस्तो बताएका हुन् ।

जवाफमा मतदाताले आफ्नो ठाउँको बिकासको लागि नेतृत्व फेर्न तयार भएको बताएका छन् । कार्यक्रममा ठुलीस्वाँरा टोल बिकास संस्थाका बलबहादुर आलेले बाटो नभएर दुख पाईएको बताउँदै बाटो बनाईदिनेलाई आफ्नो मत दिने बताए । उनले लामिछानेसँग बाटोलाई पहिलो प्रथामिकता राखेर काम गर्न माग समेत गरे । साथै उनले आफ्नो टोलमा खानेपानी र भवन मर्मतको लागि बजेट माग गरे ।

स्थानीय दधिसरा रानाले जति चुनाव आएपनि जन प्रतिनिधिले जनतालाई निराश मात्रै बनाएको गुनासो गरिन् । ‘अहिलेको पारा हेर्दा मेरो जिन्दगी त यसै गयो छोरा छोरीको जिन्दगी पनि यसरी नै जान्छ जस्तो छ ।’ उनले भनिन् ।  

उनले अहिले पार्टी र नेताहरुको भरोसा पनि लाग्छ छाडेको बताउँदै आश्वासन मात्रै दिनेलाई भन्दा नयाँ उम्मेदवारलाई मत दिने बताईन् । जनतालाई आस नदेखाउन आग्रह गर्दै उनले सबैले मिलेर काम गरे राम्रो हुने बताईन् ।

स्थानीय चन्द्र बहादुर थापाले पटक पटक धाउँदा पनि विकासका लागि बजेट नआएको गुनासो गरे । ‘पाँच वर्ष धाउँदा धाउँदा समेत बजेट पाईएन अब हामी पुरानालाई कालो झण्डा देखाउन तयार छौं ।’ उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले संविधान च्यातिने, लोकतन्त्र मासिने खतरा कायमै रहेकोले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए ।

प्रतिनिधिसभाका उम्मेदवार श्रीनाथ बरालले नेकपा एमालेले संविधान कार्यान्वयन गर्न भन्दा भ्रष्टाचार बढाउन र संसद बिघटन तिर ध्यान दिएकाले लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने अवस्था आएको बताए । देशलाई अप्ठ्यारो पर्दा कम्युनिस्ट र काँग्रेस मिल्ने नेपाली राजनीतिको विशिष्ट विषेशता रहेको भन्दै उनले आफुलाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए ।

‘जित भएपनि नभएपनि सधैं जनताको घरमा हुनेछु । बाटो स्तरोन्ती गर्ने फराकिलो बनाउने छौं । खानेपानी पर्याप्त हुनेगरी काम गर्नेछौं ।’ उनले भने ।
एकीकृत समाजवादी समानुपातिक उम्मेदवार सारदा प्रसाद सुवेदी केपीले प्रतिगामी लिएर राजनिती गरेको बताए । नेपाली काँग्रेस समानुपातिक उम्मेदवार बृद्धा राना आले आगामी ५ वर्षको लागि बिकास गर्न, समृद्धि ल्याउन गठबन्धन गर्नुपर्ने बताईन ।

नेकपा (एकीकृत समाजवादी)का समानुपातिक उम्मेदवार दिलकुमारी पन्तले गठबन्धनको उम्मेदवारको जित निश्चत भएको बताईन् । अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेस पराजुलीले संविधान बचाउन काँग्रेस र कम्युनिस्ट एक भएको बताए । व्यवस्था बचाउन गठबन्धन भएको उनको भनाई थियो ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बिजयराज आचार्यले गठबन्धन किन र के को लागि बन्यो बुझ्नुपर्ने भन्दै देशको भविष्यको लागि गठबन्धनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्की अध्यक्ष देवीमाया अधिकारी, एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य दताराम आचार्य, समानुपातिक उम्मेदवार बृद्वा देवी राना, माओवादी केन्द्र गण्डकी प्रदेश सल्लाहकार निर्मल बहादुर अधिकारी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देवराज चालिसे, नेकपा एस जिल्ला अध्यक्ष खड्क हमाल लगायतले गठबन्धन कम्तिमा ५ वर्ष अघि बढ्नुपर्नेमा जोड दिए ।