कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

बैशाख २२, काठमाडौँ

कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । ‘पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,’–उनले भने । महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो ।

महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर कामसमेत शुरु गरिसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महीने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर, जेब्राक्रसिङ र आकाशे पुल निर्माण गर्नाका साथै सवारी साधनको प्रदूषण जाँचलगायत काम ट्राफिक प्रहरीले गर्दै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।
रासस