नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुन्छ ः मन्त्री अर्याल

स्याङ्जा ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुने बताएकी छिन् । स्याङजाको स्वरेकमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित श्रीमद्भागबत धनधान्ञ्चल महायज्ञमा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् ।

मन्त्री अर्यालले गाउँ गाउँबाट समृद्धिको अभियान सुरु हुने बताइन् । उत्पादनमा जोड दिदै उनले गाउँको माटो सुहाउदो शिक्षा दिन सके शिक्षित युवाहरु बेरोजगार हुन नपर्ने बताइन् । प्राविधिक शिक्षामा सरकारको ध्यान गएको भन्दै गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको लागि स्वरेक नमुना बन्न सक्ने उनको भनाई थियो । प्राविधिक कलेज सञ्चालन गर्न तत्काल चुनौती भएपनि कक्षा ९, १० मै प्राविधिक शिक्षा समेट्न सके सहज हुने बताइन् ।

अर्को प्रसंगमा मन्त्री अर्यालले विकासको हिसावले अहिले सम्म स्वरेक पछाडी परेको भन्दै पुर्व जनप्रतिनिधि पनि यसमा दोषी रहेको बताएकी छिन् । अर्यालले स्वरेकमा अब बाटो पिच हुने बताउदै प्याराग्लाईडिङको लागि स्वरेक मैदान हव रहेको बताइन् । स्वरेकको विकासको लागि निर्बाचनको बेला गरेका बाचा पुरा गरेरै छाड्ने उनको प्रतिवद्धता थियो । विकासको लागि राजनीति गर्न नहुने उनको भनाई थियो । चुनावको बेला यो पार्टी त्यो पार्टी भनेपनि निर्बाचन पछि सवै आफ्नो गाउँ आफ्नो ठाउँको विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् ।

गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेश सरकारले प्राविधि शिक्षामा चासो राखेको भन्दै यस विद्यालयलाई पनि सक्दो सहयोग गर्ने बताए । अहिलेको आबश्यकता प्राविधि शिक्षा भएको भन्दै रेग्मीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अहिले निशुल्क शिक्षा भन्दा पनि गुणस्तरीय शिक्षा आबश्यक रहेकोले गुणस्तरीय शिक्षाको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी स्याङजाका अध्यक्ष सुरज गैरे(पारस), संकल्पकर्ता धु्रवशरण बस्याल, विद्यायल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष यमलाल शर्मा पंगेनी लगायतले आ आफ्नो भनाई राखेका थिए । माहायज्ञको पहिलो दिनमै २०लाख रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक कमल पंगेनीले जानकारी दिएका छन् । माहायज्ञ शुरुवातको दिन सयौको सख्यामा कलश यात्रामा भक्तजनहरुको सहभागीता रहेको थियो । महायज्ञ २२ गते सम्म सञ्चालन हुनेछ ।