गण्डकी प्रदेशका ६६ जना सहित देशभर थप १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

corona

बैशाख ६, कास्की,

पछिल्लो २४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो ।

कुल ७५ सय ४८ परीक्षणको १६ दशमलव ९७ प्रतिशत अर्थात् १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षण गरिएका नमुनामध्ये पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएमा खतरनाक अवस्था मान्दै आएको छ । नेपालमा पछिल्लो एक हप्तादेखि परीक्षण गरिएका नमुनाको १५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । सोमवार थपिएकासँगै नेपालमा अहिलेसम्म दुई लाख ८५ हजार नौ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ समय कोरानका कारण आठ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ ।

यस्तै थप दुई सय ५५ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार पाँच सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार नाघेको छ । अहिले सात हजार दुई सय ५४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका २४ जना र १० देखि १९ वर्ष उमेर समूहका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय ७ जनाको कोरोना परिक्षण गर्दा थप ६६ जनामा कारोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थप संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा ४६ जना रहेकाछन् । त्यस्तै थप संक्रमितमा तनहुँका ६ जना, पर्वत र स्याङजाका ४, ४ जना रहेकाछन् । त्यसैगरी नवलपुरका २ जना र गोरखा, बाग्लुङ, म्याग्दी तथा लमजुङका एक, एक जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ३१ पुगेको छ ।
हाल गण्डकीमा कोरोनाका ५ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ ।