ससंद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरियो : कांग्रेस नेता सिंह

Prakashman-Singh

बैशाख ६, काठमाण्डौ,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन काठमाण्डौ शाखाले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान दिन सोमवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरेको बताउनुभएको हो ।

मङ्गलवार संसद् बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार दिउँसो १ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको छ । नेता सिंहले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसद्लाई सामना गर्न नसकेको बताउनुभयो । संसद्लाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उहाँले बताउनुभयो ।

राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाइ कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताउनुभयो ।