असिनाले करोडौंको तरकारी नष्टगरिदियो, कृषक मारमा

asina

बैशाख ३,

असिनाले करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ । बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ ।

असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताउनुभयो । असिना पानीले धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताउनुभयो ।

तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पु¥याएको छ । असिनाले छथर जोरपाटी–६ को पुरै भाग, वडा नम्बर २ र ५ को केही भाग तथा महालक्ष्मी नगरपालिकाको वडा नम्बर १, ८ र ९ का केही भागमा लगाएको तरकारी बाली नष्ट भएको स्थानियले जानकारी दिएका छन् । गुरूङले उन्नत जातका आरकेल मटर (केराउ)‚ मार्फा, चौडा रायोको साग टिप्न बाँकी ४० प्रतिशत र काट्न हुन लागेको उन्नत जातको माधुरी फुलगोभी (काउली) सबै नस्ट गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै‚ बिहीबार साँझ परेको असिनाले तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका क्षेत्रका किसानले लगाएको तरकारी बाली पनि नष्ट भएको छ । असिनापानीले तरकारी, फलफूल र मकै बालीमा क्षति पु¥याएको छ ।

बारीमा टिप्न तयारी अवस्थामा रहेका तरकारीबाली सम्पूर्ण रुपमा नष्ट भएका हुन् । तथ्यांक संकलनपछि मात्र क्षतिको पूर्ण विवरण आउने छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताउनुभयो ।
उहाँले तथ्याङ्क संकलन पछि नै क्षति पुगेका कृषकका संवन्धमा पनि छलफलबाट राहतको केहि निर्णय हुनसक्ने बताउनुभयो ।