कास्की सहित १४ जिल्लामा विद्यालय नजाऔँ : स्वास्थ्य मन्त्रालय

hlth 1

बैशाख २, कास्की,

स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ ।
मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो ।

मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ ।

मन्त्रालयले कास्की जिल्ला सहित बागलुङ, काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत र बारालाई प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

कोरोना संक्रमण दर तीव्रगतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ ।