आज रङ्गहरुको पर्व होली, सभ्य भएर घरमै बसि रमाईलो गरौँ

Holi-1

चैत १५, कास्की,


फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
यसैबिच कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएकाले जमघट नगरि फागु पर्व मनाउन विज्ञले पनि सुझाव दिएका छन् । कास्कीको पोखरा सहित देशका धेरै सहरमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमणको दर बढेको छ ।
यसले गर्दा जोखिम थप बढेकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले आग्रह गर्नु भएको हो । भीडभाड गरेर फागु मनाउँदा वा जमघट गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्ने सम्भावना रहेकाले सचेत हुन उहाँको आग्रह छ । अन्य व्यक्तिलाई रंग लगाउँदा हात, मुख, नाक, आँखा आदि सम्पर्कमा आउने भएकाले सङ्क्रमणको जोखिम उच्च हुने उहाँले बताउनुभयो ।