घरमै बसेर होली खेलौँ : मास्क नलगाई हिँडे कारवाही हुन्छ

max

चैत १२, काठमाण्डौँ,


कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।

काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही हुने चेतावनी दिएका छन् । यस्तै होली पर्वलाई घरभित्रै सीमित गर्न आग्रह गरिएको छ ।

भीडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन पनि प्रशासन कार्यालयले अनुरोध गरेका छन् । ललितपुरमा रात्रिकालीन व्यवसायहरू राति ११ बजेपछि सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन सरकारले सबैसँग आग्रह गरेको छ । भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । हिजो नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सङ्क्रमणको अवस्था बढेमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै होली मनाउँदा भेला नभइ घरपरिवारमा सीमित गर्न आग्रह गर्नुभयो ।

उहाँले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उहाँको भनाइ छ ।

यस्तै गृह मन्त्रालयले पनि सबै जिल्ला प्रकाशन कार्यालयलाई जमघट रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भीडभाड नगर्न आग्रह गरेपछि त्यहीअनुसार भीडभाड हुने र धेरै मानिस जमघट हुने कार्यक्रम बन्द गराउन भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । समूहमा होली पर्व मनाउने, अरू भेला गरेमा प्रहरीले कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।