तरकारी र फलफूलको भाउ अकासियो : बजारमा अभाव कि कालोबजारी ?

उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधबार रातीदेखि निषेधाज्ञा जारी गरिएको थियो । सरकारले निषेधाज्ञा जारी गरेसँगै तरकारी र फलफूलको चरम मूल्यवृद्धि भएको छ । एक साताको अवधिमा तरकारी र फलफूलको मुल्य ९ गुणासम्म वृद्धि भएको पाइयो । उपत्यकामा तरकारी तथा फलफूल अभाव देखाउँदै मूल्यवृद्धि र कालोबजारी भइरहेको छ ।

गत साता सरकारले कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा गरेसँगै बजारमा तरकारी र फलफूलको भाउ अकासिएको छ । गत साता बजारमा ३० रुपैयाँ किलो पाइने तरकारी हाल १ सय २० रुपैयाँ पुगेको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञासँगै तरकारी र फलफूलको भाउ ९ गुणाले वृद्धि भएको छ । 

काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा हाल काभ्रे, मकवानपुर, धादिङ, चितवन, भक्तपुर, ललितपुरलगायत जिल्लाबाट तरकारी आउने गरेको छ । यी जिल्लाबाट भित्रिएको तरकारी किसानले पुरानै मूल्यमा बेचिरहेको बताइरहेका छन् । 

बजारमा भने तरकारीको मूल्य ९ गुणा वृद्धि भएपछि तरकारी उत्पादन गर्ने किसान नै चकित भएका छन् । गत साता ७० रुपैयाँमा बजारमा पाइने स्याउको मूल्य एक सातायता १ सय ८० रुपँयाँ पुगेको छ । गत सातामा ३० रुपँयाँमा पाइने टमटर हाल १ सय १० रुपैयाँमा बिक्री भइरहेको छ । गत साता ९० रुपैयाँमा पाइने फलफूल अहिले २ सय ५० रुपँयाँ प्रतिकिलोसम्ममा किनेर उपभोक्ता खान बाध्य छन् ।  

सातामै कसरी मूल्य अकासियो ? 

गत सातादेखि निषेधाज्ञा भएपछि  बजारमा एक्कासि तरकारी र फलफूलको भाउ अकासिएको छ । तरकारी र फलफूलको भाउ बढेसँगै उपभोक्ताले तरकारी किनेर छाक टार्न मुस्किल भइरहेको गुनासो गर्न थालेका छन् । 

बजारमा तरकारीको भाउ कसरी वृद्धि भइरहेको छ भन्ने विषयमा सेवाग्राहीलाई जानकारी छैन । खुद्रा व्यापारीले होलसेलमै तरकारी र फलफूलको मूल्य वृद्धि भएको भन्दै महँगो मूल्यमा बिक्री गर्दै आएका छन् । 

उपत्यकामा सामान्य अवस्थामा दैनिक ७ सयदेखि ९ सय टन तरकारी बाहिरबाट भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । गत बुधबारदेखि निषेधाज्ञा भएसँगै सरकारले तरकारी ढुवानी गरिरहेका ट्रकको जाँचपासमा कडाइ गरेपछि बाहिरबाट आयात हुने तरकारीमा गिरावट आएको समितिले जानकारी दिएको छ । 

निषेधाज्ञापछि ३ सयदेखि ४ सय टन तरकारी कालीमाटीमा मात्र भित्रिने गरेको छ । यसभन्दा बाहिरका तरकारी बजारमा करिब ३ टन तरकारी आइरहेको अनुमान समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उपत्यकाको जनसंख्यालाई दैनिक ५ सय टनसम्म तरकारी आवश्यक पर्ने उनले बताए । निषेधाज्ञासँगै तरकारी भित्रिने क्रम घटेपछि बजार धान्न समस्या हुँदा तरकारीको भाउ बढेको समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन् । 

‘उपत्यकामा २ महिनायता मानिसको चहलपहल बढेको छ । सामान्य होटल, ठूला होटल र अन्य मझौला होटलमा व्यवसाय खुलेसँगै तरकारीको माग उच्च छ । निषेधाज्ञा भए पनि विगतमा जस्तो मानिस उपत्यका छाडेर बाहिरिँदैनन्’, उनले भने, ‘सरकारले विदेशबाट उद्धार गरेर ल्याएका कामदारलाई होटल क्वारेन्टाइनमा राख्ने हुँदा होटल व्यवसायीले धेरै तरकारी किनेर स्टोर गर्ने थालेका छन् । यसका कारण तरकारीको मूल्य बढ्यो होला ।’ तरकारीको आपूर्ति सहज भएपछि मूल्य सामान्य अवस्थामा आउने उनको भनाइ छ । 

उपत्यकामा मात्र होइन, देशभर तरकारीको भाउ महँगिएको छ । किसानको बारीमा उत्पादन भएको तरकारी पुरानै मूल्यमा बिक्री गरिरहेको किसानले सामाजिक सञ्जालमा बताइरहेका छन् नि ? भन्ने प्रश्नमा यस विषयमा आफूलाई जानकारी नभएको समितिका सूचना अधिकारीले जानकारी दिए । कालीमाटीमा आएको तरकारीको मूल्य मात्र समितिलाई थाहा हुने, किसानसँग व्यापारीले कति मूल्यमा किनेर ल्याए भन्ने विषयमा जानकारी नुहने उनको भनाइ छ ।  

अनुगमन किन हुँदैन ? 

देशमा कोरोना नियन्त्रण गर्ने लकडाउन, बाढी-पहिरोसँगै अन्य समयस्या हुँदा तरकारीको भाउ एक्कासि वृद्धि हुने गरेको छ । विगतमा पनि सेवाग्राहीले यस्तो समस्या भोग्दै आएका छन् । तरकारी र फलफूलको मूल्य वृद्धि भएको विषयमा सम्बन्धित कृषि तथा पशुपन्छी विकास मन्त्रालय पक्कै जानकार हुनुपर्छ । तर, बजारमा तरकारीको भाउ दिनहुँ बढेपछि सेवाग्राही मारमा परेको विषयमा कृषि मन्त्रालय जहिले पनि मौन बस्दै आएको छ ।

कृषि मन्त्रालयका कर्मचारीले पनि पछिल्लो समय बढेको तरकारी खरिद गरेर खाँदै होलान् । तरकारी र फलफूलको मूल्य यति बढ्दा पनि कृषि मन्त्रालयले किन अनुगमन गरिरहेको छैन भन्ने प्रश्नको विषय बनेको उपभोक्ता रामजी पौडेल बताउँछन् ।

तरकारी र फलफूलको मूल्य किन बढ्यो भनेर कृषि मन्त्रालयले सम्बन्धित निकाय र कृषकसँग जानकारी लिइरहेको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए । तरकारीका मूल्य दिनैपिच्छे ९ गुणाले बढिरहेको छ तर मन्त्रालयले बजार अनुगमन गर्न सकेको छैन नि ? भन्ने प्रश्नमा प्रवक्ता केसीले भने, ‘कृषि मन्त्रालयले अप्रत्यक्ष रूपमा बजार अनुगमन भइरहेको छ । किन र कहाँ कसरी तरकारीको मूल्य वृद्धि भइरहेको छ भनेर जानकारी दिइरहेको छ । अनुसन्धानसँगै तरकारी व्यवसायीसँग छलफल र अनुगमनका लागि सम्बन्धित निकायलाई जानकारी गराएका छौँ ।’

अनुगमन हुने र धेरै मूल्य लिएर बेच्नेमाथि कानुनी कारबाही पनि हुने उनको भनाइ छ । 

तरकारीको मूल्य कसरी वृद्धि भइरहेको छ भन्ने विषयमा कृषि मन्त्रालयअन्तर्गत विभागका कर्मचारीलाई राम्ररी थाहा भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । कृषि मन्त्रालयलाई कहाँबाट, कसले, किन तरकारीको मूल्य वृद्धि गरिरहेको छ भनेर जानकारी भए पनि कानुनी कारबाही गर्न नसक्ने उनको भनाइ छ । 

सरकारले किसानसँग सिधै तरकारी किन्ने प्रणालीको विकास नगरेसम्म सेवाग्राहीले महँगो मूल्यमा तरकारी बाध्यताले किन्नुपर्ने उनको बुझाइ छ । ‘किसानले उत्पादन गरेको बारीदेखि सेवाग्राहीको भान्सासम्म आइपुग्दा कति मूल्यमा फरक पर्छ ? त्यो अनुगमन गर्नुपर्छ अनि थाहा हुन्छ, तरकारीको वास्तविक मूल्य । कृषि मन्त्रालयले तरकारीको मनपरी मूल्य बढ्दा पनि अनुगमन नगर्दा विचौलियाले मूल्य वृद्धिमा चलखेल गरिरहेका छन्’, उनले भने, ‘विचौलियाले तरकारीको मूल्य बढाउन बजार अभाव देखाउँदै आएका छन् । बजारमा तरकारीको अभाव कसरी भएको छ ? धेरै पैसामा तरकारी किन्न पाइरहेको छ । किसानले पुरानै मूल्यमा तरकारी बेच्दै आएका छन् ।’

अनुगमनको पाटो फितलो हुँदा तरकारीको मूल्यमा वृद्धि भइरहेको उनको आरोप छ । 

बारीमा भन्दा बजारमा कति फरक ?

गोलभेँडा सानो ४० रुपैयाँ प्रतिकिलो (हाल बजारमा १ सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ३० रुपैयाँमा पाइन्छ । 
गोलभेँडा सानो (टनेल) ४० रुपैयाँ प्रतिकिलो (बजारमा प्रतिकिलो १ सय १० रुपँयाँमा बिक्री) बारीमा ३० रुपैयाँमा किसानले बेच्छन् ।
आलु रातो ७० रुपैयाँ प्रति २ किलो (बजारमा १ सय ८० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ५० रुपैयाँमा पाइन्छ । 
आलु रातो (मुडे) ६० रुपैयाँ किलो (बजारमा १ सय ६० रुपैयाँ प्रतिकिलोमा बिक्री) किसानसँग ४५ रुपँयाँमा पाइन्छ । 
प्याज (सुकेको) भारतीय ५० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ५ रुपैयाँ प्रतिकिलोमा बिक्री) होलसेलमा किसानले ३० रुपैयाँमा दिन्छन् ।
गाँजर (लोकल) ६५ रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ४० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीबाट किसानले ५० रुपँयाँमा व्यापारीलाई बेच्छन् । 
काउली स्थानीय १ सय २० रुपैयाँ प्रतिकिलो (बजारमा २ सय ४० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ६० रुपैयाँमा पाइन्छ । 
बन्दा (लोकल) ४० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ३० रुपैयाँ प्रतिकिलोमा बिक्री) किसानले २५ रुपँयौमा व्यापारीलाई बेच्छन् । 
सेतो मूला (हाइब्रिड), मूला सेतो (लोकल) ७० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ८० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ५० रुपैयाँ बिक्री हुन्छ ।
बोडी (टनेल) ७० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ३० रुपैयाँ प्रतिकिलोमा बिक्री)
भन्टा लाम्चो ६५ रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ३० रुपैयाँ प्रतिकिलोमा बिक्री) 
घीउसिमी (लोकल), घीउसिमी (हाइब्रिड) ८५ रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ८० रुपैयाँ प्रतिकिलोमा बिक्री) किसानले ६० मा बेच्छन् ।
तीते करेला ५० रुपैयाँ प्रतिकिलो ( बजारमा १ सय ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा किसानले ३० रुपँयाँ किलो बेच्छन् ।
हरियो धनियाँ २ सय ५५ रुपैयाँ प्रतिकिलो (बजारमा ५ सय रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा १ सय ८० रुपँयाँमा पाइन्छ । 
हरियो फर्सी (डल्लो), फर्सी पाकेको ७० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ८० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ५० रुपैयाँ किलो पाइन्छ । 
पालुङ्गोको साग, चमसुरको साग र रायोको साग ७५ रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ५५ रुपैयाँ किलोमा पाइन्छ ।
परबर (लोकल) १ सय ५ रुपैयाँ प्रतिकिलो (बजारमा २ सय ४० रुपैयाँमा बिक्री) बारीमा ७० रुपैयाँ किलो पर्छ ।  
घिरौँला ६० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ७० रुपैयाँ प्रतिकिलोमा बिक्री) 
स्कुस ६५ रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ४० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ४० रुपँयाँमा पाइन्छ । 
कुरिलो २ सय ४५ रुपैयाँ प्रतिकिलो (बजारमा ५ सय रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा १ सय ८० रुपँयाँमा पाइन्छ । 
निगुरो १ सय १५ रुपैयाँ प्रतिकिलो (बजारमा २ सय ८० रुपैयाँ प्रतिकिलोमा बिक्री) जंगलबार ल्याएर ६० रुपँयाँमा व्यापारीलाई बिक्री । 
काँक्रो (लोकल) र काँक्रो (हाइब्रिड) ७० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ९० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ४५ रुपैयाँ किलो पाइन्छ । 
खुर्सानी हरियो (बुलेट), खु्र्सानी हरियो ७० रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ५५ रुपैयाँमा पाइन्छ ।
खुर्सानी हरियो (माछे) ९५ रुपैयाँ प्रतिकिलो (बजारमा १ सय ९० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा ६० रुपैयाँमा बिक्री हुन्छ । 
खुर्सानी हरियो (अकबरे) १ सय ९५ रुपैयाँ प्रतिकिलो (बजारमा ३ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री) बारीमा १ सय ४० रुपैयाँ किलो पाइन्छ ।
स्रोत : समिति, व्यापारी र किसान