बच्चालाई जन्मिएको १ वर्षदेखि नै निरन्तर पौष्टिक आहार खुवाउनुपर्ने हुन्छ ।

असार २०, धेरै अभिभावकलाई सधैंभरी आफ्ना बच्चाहरुको शारीरिक विकास र बौद्धिक विकासको विषयमा चिन्ता हुने गर्दछ । यसैलाई ध्यानमा राखी आधुनिक विज्ञान र प्राचीन आयुर्वेद विज्ञानले समेत मानिसलाई विरामी भएपछि उपचार गर्ने भन्दा पनि सधैं तन्दुरुस्त बनिराख्ने तर्फ नै बढी जोड दिने गरेका छन् । जसको लागि दैनिक सन्तुलित रुपमा पौष्टिक आधार खानु नै स्वस्थ रहने निर्विकल्प उपाय हो । बालबालिका होस् या त बयस्क र बृद्धबृद्धाहरु समेत सधैं स्वस्थ रहिरहनको लागि निश्चित मात्रामा पोषक तत्वहरुको आवश्यकता पर्दछ ।

तर, आधुनिक विज्ञान र आयुर्वेदले समेत एउटा शरीरलाई स्वस्थ बनाई राख्नको लागि प्रोटिन, भिटामिन तथा खनिज आदिको आवश्यकता औंल्याएका छन् ।
आयुर्वेद र विज्ञानले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि केवल खानामा सन्तुलन मिलाउनु पर्ने उल्लेख गरेका छन् । दैनिक बालबालिकाहरुलाई खुवाउनै पर्ने आहारहरुको मात्रा तल उल्लेख गरेका छन् ।

बच्चालाई जन्मिएको एक वर्षदेखि नै निरन्तर पौष्टिक आहार खुवाउनुपर्ने हुन्छ । कुनैपनि बच्चालाई तन्दुरुस्त बनाईराख्नको लागि उसलाई खुवाउने दैनिक आहारहरुमा ध्यान दिनु जरुरी छ ।

एक वर्षदेखि १२ वर्ष उमेर समूहलाई बालबालिकाको रुपमा व्याख्या गर्दै त्यो समूहलाई ४ भागमा बाँडेर पौष्टिक आहारहरुको सूची तयार पारेका छ।

कुनैपनि पौष्टिक आहारले शरीरमा ३ किसिमको कार्य गर्ने गर्दछ । पहिलो शारीरिक कार्य, दोस्रो मनोवैज्ञानिक कार्य र तेस्रोमा सामाजिक कार्य । शारीरिक कार्य अन्तर्गत् शरीरमा उर्जा प्रदान गर्ने, शारीरिक विकासको लागि क्यालोरीको सञ्चयन गर्ने र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने काम पौष्टिक आहारले गर्ने गर्दछ ।

कुनैपनि शारीरिक र मानसिक विकासको लागि चाहिने पौष्टिक तत्वको रुपमा कार्बाेहाईड्रेड, प्रोटिन, बोसो, भिटामिन र लवणलाई महत्वपूर्ण मानिएको छ ।

कुनैपनि बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहारकोे प्रयोगको लागि संहितामा १-३ वर्ष, ४-६ वर्ष, ७-९ वर्ष र १०-१२ वर्षको गरी ४ वर्गमा विभाजन गरिएको छ । त्यसमध्ये पनि शाकाहारी र मांशाहारी बालबालिकाले दैनिक भिन्नभिन्न मात्रामा सन्तुलित आहार खानुपर्ने छ ।

कुन उमेरमा कति खुराक ?

१-३ वर्षका एक शाकाहारी बालकले दैनिक १५० ग्राम अन्न खानुपर्ने हुन्छ । त्यस्तै, दाल ५० ग्राम, हरियो तरकारी ५० ग्राम, फलफूल ५० ग्राम, दूध ३०० ग्राम, घिऊ वा तेल २० ग्राम र चिनी तथा शख्खर कम्तिमा ३० ग्राम खानु पर्ने चरकले सुझाव दिएका छन् । त्यस्तै, सोही उमेर समूहका मांसाहारी बालकले अन्न १५० ग्राम, दाल ४० ग्राम, हरियो तरकारी ५० ग्राम, फलफूल ५० ग्राम, दूध २०० ग्राम, घिऊ तथा तेल २० ग्राम, मासु तथा अण्डा ३० ग्राम र चिनी ३० ग्राम खानु पर्दछ ।

अर्काेतर्फ ४-६ वर्षको उमेर समूहका मानिसहरुमध्ये शाकाहारी र मांसाहारी दुबै बालिकालिकाले दैनिक समान २०० ग्राम अन्न, ७५ ग्राम हरियो तरकारी, ५० ग्राम फलफूल, २५ ग्राम घिऊ तथा तेल, र समान ४० ग्राम चिनी खानुपर्ने उल्लेख छ । जसमा शाकाहारी बालबालिकाले दैनिक दाल ६० ग्राम खाँदा मांसाहारीले ५० ग्राम खाए हुन्छ भने दूध पनि शाकाहारीको लागि दैनिक २५० ग्राम र मांसाहारीको लागि २०० ग्राम आवश्यक हुने आयुर्वेदसम्बन्धी प्राचीन एवं चर्चित चरकसंहितामा उल्लेख छ । मांसाहारी बच्चाहरु १-१२ वर्षसम्मका सबैको लागि दैनिक ३० ग्राम मासु तथा अण्डा अनिवार्य गरिएको छ ।

त्यस्तै, ७ वर्षदेखि ९ वर्षसम्मको उमेर समूहका बच्चाहरुले अन्न २५० ग्राम, हरियो तरकारी ७५ ग्राम, फलफूल ५० ग्राम, घिउ ३० ग्राम र चिनी ५० ग्राम दैनिक शाकाहारी र मांसाहारी बच्चालाई आवश्यक मानिन्छ । यसमा शाकाहारीले दूधमा मांसाहारीले भन्दा ५० ग्राम बढी अर्थात् २५० ग्राम खानुपर्नेछ भने मांसाहारीले ३० ग्राम मासु तथा अण्डा खानुपर्ने संहितामा उल्लेख छ ।

त्यस्तै, १०-१२ वर्षसम्मका बालबालिकाहरुले दैनिक ३२० ग्राम कम्तिमा पनि अन्न खानै पर्नेछ । यसका बाहेक हरियो तरकारी १०० ग्राम, फलफूल ५० ग्राम, घिउ ३५ ग्राम र चिनी ५० ग्रामको दरमा शाकाहारी एवं मांसाहारी बच्चाले दैनिक खाना खानै पर्छ । यसबाहेक शाकाहारीले दाल ७० ग्राम र दूध २५० ग्राम खाँदा मांसाहारीले ३० ग्राम मासु एवं अण्डा अनिवार्य खानैपर्ने चरक संहितामा उल्लेख छ ।

आधुनिक विज्ञान भन्छ : ‘चिनी र नुन कम गरौं’

बालबालिकाको सन्तुलित आहारको लागि नून र चिनीको मात्रा बच्चाहरुमा कम गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । कृतिम जुसहरु कम खुवाउने र आफूले बनाएको खानामा समेत कम गुलियो खाना खुवाउने बानी बसाल्न सुझाव दिएको छ । त्यस्तै, आलू चिप्स, फिङ्गर चिप्स आदि नुनिलो पदार्थ धेरै भएका बस्तुहरु पनि कम खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।