नेपालको ७७ जिल्लामा फैलिए कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो ।

असार १३, नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार नाघेको छ । शनिबार मात्र ५ सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र पाँच सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको हो ।

मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् । कुल १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ । मृतकको संख्या भने २८ पुगेको छ ।