पोखराबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

बैशाख १, पोखरा ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए। भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने बताउँदै उनले पर्यटनलाई उत्पादनसँग जोड्नु अपरिहार्य भएको उल्लेख गरे।

मुलुकमा आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशले सङ्घीय कार्यक्रमलाई सफल बनाउनका लागि २०१९ लाई आन्तरिक भ्रमण वर्ष र २०२० लाई छिमेकी पर्यटन वर्षको रुपमा अगाडि बढाएको जानकारी दिए।

संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आगामी जेठसम्ममा लुम्बिनीस्थित गौतमबुद्ध विमानस्थल सम्पन्न भई सञ्चालनमा आउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको समयअगावै सम्पन्न हुने र निजगढ विमानस्थल निर्माणको प्रक्रियामा रहेको जानकारी दिए।

सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको बताउँदै उनले पर्यटनको क्षेत्रमार्पmत मुलुकको अर्थतन्त्रलाई स्वावलम्वन बनाउँदै स्वदेशमा १० लाख रोजगार सिर्जना गर्ने लक्ष्य रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बसी भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारी गरिएको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले जानकारी दिए।