अमेरिकाले विश्व स्वास्थ्य संगठनसंग सम्वन्ध अन्त्य गर्ने निर्णय गरेको छ ।


जेठ १७, कोरोनाभाइरसको महामारीमा चीनको पक्षपोषण गरेको र उसैको कठपुतली बनेको आरोप लगाउदै राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य संगठनसंगको सबै सम्वन्ध समाप्त भएको घोषणा गरेका हुन ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठनमा सम्पूर्ण रुपमा चीनको नियन्त्रण रहेको भने । उनले अन्य विश्व स्वास्थ्य संस्थाहरुलाई अमेरिकाले दिइरहेको आर्थिक सहयोगमा समेत पुनर्विचार हुने बताए । स्वास्थ्य संगठनले चीनसंग सहकार्य गरी कोरोनाभाइरस सम्वन्धि यथार्थ सूचना लुकाएको आरोप अमेरिकाले निकै अघी देखि लगाउदै आएको छ । यही बहानामा उसले दिइरहेको सहयोग समेत रोक्ने चेतावनी दिइरहेको थियो ।

विश्व भरी कै स्वास्थ्य क्षेत्रलाई हेर्ने राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठनलाई अमेरिकालेगत बर्ष सबैभन्दा धेरै ४० करोड अमेरिकी डलर सहयोग दिएको थियो । कोरोनाभाइरसबाट अमेरिकामा १ लाख २ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने १७ लाख ४५ हजार भन्दा बढीमा संक्रमण फैलिएको छ । ट्रम्पलाई मृतकको बढ्दो संख्याले महामारी नियन्त्रणमा असफल भएको आरोप लागेको छ । त्यसैको बचाउ गर्न पनि उनले चीन र स्वास्थ्य संगठनलाई बारम्वार दोषारोपण गरीरहेको विश्लेषण गरिएको छ ।