गण्डकीप्रदेश सरकारको पहिलो बैठक र ५ वटा निर्णय ।

बैशाख १६, गण्डकी प्रदेश सरकारको नयाँ वर्ष २०७७ मा पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले ५ वटा निर्णय गरेको छ । बैठकले प्रदेश विकास परिषदको पहिलो बैठकले प्रथम पञ्चवर्षीय योजना स्वीकृत गर्न सिफारिस गरेकोमा त्यो स्वीकृत गरिएको छ । सरकारका प्रवक्ता मन्त्री रामशरण वस्नेतका अनुसार शसर्त अनुदानका लागि नेपाल सरकारसँग १० वटा योजना थप समावेश गर्न अनुरोध गरिएको छ ।
जसमा सरुवा तथा संक्रमण रोग नियन्त्रण तथा रोकथाम गर्ने अस्पताल निर्माण आयोजना,प्रदेश स्तरीय शिक्षण अस्पताल निर्माण, गण्डकी प्राविधिक प्रतिष्ठान निर्माण , प्रदेश सदरमुकाम पोखरा जोड्ने स्थानीय तहका सडक कालोपत्रे गर्ने, पोखरा महानगरपालिका रिङरोड निर्माण, कास्की र तनहुको तल्ले पुडिटारमा प्रदेश औद्योगिक क्षेत्र निर्माण,नवलपुरको लोकाहा खोलामा प्रदेशको औद्योगिक क्षेत्र निर्माण गर्ने, फेवाताल संरक्षण गर्ने, पर्यटन पुनरउत्थान गर्ने कार्यक्रम र प्रत्येक जिल्लामा खाद्य वैकको भौतिक संरचना निर्माण गर्नका लागि उक्त अनुदान माग गरिएको छ ।
कोभिड १९ को उपचारमा प्रत्यक्ष संलग्नलाई खाइपाई आएको सुरुको भत्ता वरावर सत प्रतिशत जोखिम भत्ता दिने निर्णय पनि भएको छ । कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीको मृत्यु भयो भने जिवन विमा वापत ३० लाख रुपैया मृतकका हकवालालाई उपलब्ध गराउने निर्णय पनि भएको छ ।
उपचार गर्दा लाग्ने पनि सवै खर्च व्यहोर्ने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य विमा संयोजन ५ सदस्यीय गठन गरिएको छ जसको संयोजकमा सामाजिक विकास सचिव रहनुभएको छ । सघन उपचारमा समस्या परेको भन्दै गण्डकी प्रदेशको ११ वटै जिल्लामा आइसीयु वाड निर्माण गर्न बजेट विनियोजन भएको मन्त्री वस्नेतले जानकारी दिनुभयो ।