पोखरा ।
पोखरा महागनरपालिका वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो ।
केन्द्रको पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताइन् ।
समान्य विवादमा सिधै अदालत पुग्दा पैशा र समय दुवै खर्च हुने मात्रै नभएर सामाजिक रुपमा बदलाको भावना उत्पन्न हुने अवस्था आउने भएकाले मेलमिलाप मार्फत दुवै जनाले जित्ने अवस्थाले शान्ति स्थापनामा भुमिका खेल्ने बताइन् । उनले महानगरले महिलाहरुलाई निशुल्क कानुनी परामर्शको व्यवस्था गरेको समेत बताइन । प्रमुख गुरुङले महिलाहरुलाई आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताइन् ।
न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराए ।
वडा नम्वर २८ का अध्यक्ष निर्मल दियालीले मेलमिलाप केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताए । उनले आफनै वडामा बसेर विवाद समाधान गर्दा समाजिक सद्भाव कायम हुने विश्वास ब्यक्त गरे । वडा नम्वर २८ का अध्यक्ष निर्मल दियालीको अध्यक्षता भएको कार्यक्रममा नेकपा २८ का अध्यक्ष भोलनाथ त्रिपाठी, मेलमिलापकर्ता रामकृष्ण त्रिपाठी, महिला अधिकारकर्मी विष्णुमाया पौडेल, महानगरका कानुन अधिकृत राममणी अधिकारी लगायतले मेलमिलाप मार्फत विवाद समाधान भए समाजमा सद्भाव कायम हुने बताए ।
न्यायिक समितिले महागनरका ३३ मध्य १३ वटामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ ।महानगरमा १७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् । यसैवीच वडा नम्वर २८ ले आयोजना गरेको आधारभुत तथा डिप्लोमा कम्प्युटर तालिमको पनि समापन गरिएको छ । वडाको आर्थिक सहयोग र दीप कम्प्युरटको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको वडा अध्यक्ष निर्मल दियालीले बताए । तालीम तीन महिना सञ्चालन गएको थियो । काबा प्रमुख गुरुङले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण समेत गरेकी थिइन् ।