रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई २ लाख ५१ हजार सहयोग

पोखरा ।

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई समाजसेवी धनसिंह गुरुङ(गुरुङ मेडिकल अर्थात हाकिमको कान्छा)को परिवारले २ लाख ५१ हजार रुपैया सहयोग गरेको छ। मंगलवार रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा आयोजित स्वागत सम्मान कार्यक्रममा स्याङ्जा फेदिखोला गाँउपालिका मट्टिखान गाँउभई पोखरा निवासी समाजसेवी धनसिंह गुरुङ–रामसुवा गुरुङ दम्पत्तिका तर्फबाट १ लाख १ हजार, जेठा छोरा तमु धिं युकेका पुर्व अध्यक्ष सुवासिंह गुरुङ, बुहारी कमला गुरुङले ५० हजार, अर्का छोरा शुभमानसिंह गुरुङ, बुहारी रोजी गुरुङले ५० हजार र छोरी पवित्रा गुरुङले ५० हजार रुपैया सहयोग गर्नुभएको हो।

जेष्ठ नागरिकहरुको भेटघाटको स्थल, अनुभव आदान प्रदान, जेष्ठ नागरिकलाई सम्मानित वातावरण निर्माणका लागि स्थापित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रको हालसम्मका सबैभन्दा ठुलो रकम सहयोग गर्ने सहयोगी समाजसेवी धनसिंह गुरुङ–रामसुवा गुरुङलाई सम्मानपत्रसहित कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक क्या.कुलबहादुर गुरुङले सम्मान गर्नुभएको थियो भने रामबजार सोसाईटी युकेका पुर्व अध्यक्ष तथा जेष्ठ नागरिक मिलन केन्द्रका सहयोगी रुपक गुरुङलाई नेपाल आगमनको अवसरमा स्वागत गरिएको थियो।

कार्यक्रममा सहयोगदाता धनसिंह गुरुङले जेष्ठ नागरिकहरुलाई सम्मानित महसुस गर्न मिलन केन्द्रले रामबजार क्षेत्रमा विशेष वातावरण निर्माण गरिरहेकाले संस्थागत विकास र केन्द्रमा आवद्ध जेष्ठ नागरिकहरुलाई सेवा सुविधा अभिवृद्धिका लागि आफु लगायत परिवारबाट सहयोग गरेको बताउनुभयो।

कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका परिकल्पनाकार, सामाजिक अभियन्ता तथा केन्द्रलाई सहयोगको लागि विशेष भुमिका निर्वाह गरिरहनु भएका महेस गुरुङले रामबजार जेष्ठ नागरिक नागरिक मिलन केन्द्र स्थापनाको उद्धेश्यका बारेजमा जानकारी गराउनुभएको थियो। केन्द्रलाई थप व्यवस्थित र जेष्ठ नागरिकलाई सेवा सुविधा प्रदान गर्न आफुले धनसिंह गुरुङ(गुरुङ मेडिकल)लाई सहयोगको प्रस्ताव राख्ने वित्तिकै आफु मात्रै नभई परिवारलाई नै सहयोग गर्न तयार गराएकोमा सहयोदाताहरुलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा केन्द्रका अध्यक्ष क्याप्टेन थमनसिंह थापाले सहयोगीलाई धन्यवाद दिनुहुदै रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई उदाहरणीय केन्द्रको रुपमा विकास गर्ने बताउनुभयो। अध्यक्ष क्या.थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङ भुजेलले स्वागत र सचिव ज्ञानबहादुर थापाले कार्यक्रम संचालन गर्नुभएको थियो। रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा रामबजार क्षेत्रका २३६ जेष्ठ नागरिकहरु आवद्ध रहेको सचिव थापाले जानकारी दिनुभयो।