तीन दिवसीय नेतृत्व विकास कार्यशाला शुभारम्भ

पोखरा ।

स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा तीन दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला शुभारम्भ भएको छ । समारोहको उद्घाटन गर्दै वडा १५ का वडाध्यक्ष प्रकाश पौड्यालले संघसंस्था सञ्चालन गर्ने व्यक्ति बोल्न सफल भए मात्रै व्यक्ति र संस्थाको विकास हुने बताए । उनले समृद्धिमा सामूहिक विकास अनिवार्य भएकाले संस्थागत प्रगतिमा महानगर सधैं हातेमालो गर्न तत्पर रहेको धारणा राखे ।

वडा १५ का जनप्रतिनिधि पार्वती कार्कीले १५ नम्बर वडाका सीमान्तकृत समुदायका दिदीबहिनीलाई लक्षित गरेर तालिम आयोजना गरिएको बताउँदै दिदीबहिनीले अवसरलाई उत्सवमा परिणत गर्न दत्तचित्त भएर लाग्न अनुरोध गरिन् । राष्ट्रिय भूमि अधिकार मञ्चका टेकबहादुर पुनले दिदीबहिनीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रम स्तुत्य रहेको बताए । पुनले थपे, महानगर भएर पनि पिछडिएको क्षेत्रका रूपमा रहेको टोलमा स्वतन्त्र पत्रकार संघ कास्की जुन कार्यक्रम लिएर आयो त्यसप्रति हामी सदा ऋणी रहने छौं ।

कार्यक्रममा भगवतीटार आमा समूहकी अध्यक्ष शशी गुरुङ, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, उपाध्यक्ष तीलक थापा, संघका संघसंस्था समन्वय उपसमिति संयोजक सागर कार्की र सदस्य डिल्लीराम कार्कीलगायतले बोलेका थिए । वडा नं. १५ को समन्वयमा तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा विभिन्न महिला समूहका ५५ दिदीबहिनीको सहभागिता रहेको छ ।