कुन्मिन माउण्टेनियरिङ एण्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौडको उपाधि नेपालकी रसिलालाई

पोखरा ।

मित्रराष्ट्र चीनको कुन्मिन सहरमा आयोजना भएको ‘कुन्मिन माउण्टेनियरिङ एण्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौड’अन्तर्गत महिला व्यक्तिगतर्फको उपाधि नेपालले जितेको छ । सो दौडमा सहभागिता जनाएकी नेपालकी रसिला तामाङले हजारौ प्रतिष्पर्धीलाई पछि पादै पहिलो स्थान प्राप्त गरेकी हुन् । प्रतियोगितामा सहभागि नेपाली टोलीका व्यवस्थापक यामबहादुर गुरुङका अनुसार रसिलाले सो दौड ८ घण्टा ६ मिनेट १९ सेकेण्डमा पूरा गरिन् । चिसो मौषममा ५० किलोमिटरको सो दौडको क्रममा ४ हजार २ सय ४७ मिटर अग्लो पहाड पार गरेकी उनले स्वर्ण पदकसँगै ४ हजार ५ सय चिनियाँ आरएमबी अर्थात् करिब ७२ हजार नेपाली रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

यसैगरि सो दौडको पुरुषतर्फको स्पर्धामा नेपाली खेलाडीहरु दुर्गाराज बुढाले दोस्रो, दामोदर बुढाले तेस्रो र सन्तोषविक्र विष्टले पाँचौँ स्थान प्राप्त गरे । दुर्गाले निर्धारित ५० किलोमिटर दूरी ६ घण्टा ४६ मिनेट १७ सेकेण्डमा पूरा गरे भने सन्तोषले सो दूरी पार गर्न ७ घण्टा ८ मिनेट १९ सेकेण्ड लगाए । उनीहरुले मेडलसहित क्रमशः ३५ सय र २५ सय चिनियाँ आरएमबी पनि पाए । ७ घण्टा ४० मिनेट २४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका सन्तोषलाई भने मायाको चिनो मात्र प्रदान गरिएको नेपाली टोलीका प्रशिक्षक गजबहादुर गुरुङले बताए ।

गएको असोज २९ गते पोखरामा आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड–२०१९’मा पहिलो र दोस्रो हुने नेपाली टोलीका ८ जना खेलाडीहरुले सो प्रतियोगितामा सहभागिता जनाएका हुन् । गएको असोज २९ गते पोखरामा आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड–२०१९’को आयोजना गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसन एसोसियन प्रतियोगिताको आयोजक थिए । प्रतियोगितालाई पोखरा महानगर तथा चीनको कुन्मिन महानगरले संरक्षकत्व प्रदान गरेका थिए । सो प्रतियोगितामा व्यक्तिगत र समूहगत रुपले चिनियाँ खेलाडी पनि सहभागि थिए ।

खेलकुदको माध्यमबाट पोखरालाई चिनियाँ पर्यटन बजारमा चिनाउन आयोजित प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई चीनको कुन्मिनमा आयोजना हुने क्रस कन्ट्री दौडमा सामेल गराइने घोषणा गरिएको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लवको सन्तोषविक्रम विष्ट,गणेश ठकुरी र ईन्द्रकला राई नेवाङ्गको समूह प्रतियोगितामा पहिलो भएको थियो । दोस्रो स्थान दुर्गाराज बुढा,रसिला तामाङ र दामोदर बुढा मगर सम्मिलित गुरिल्ला समूहको पोल्टामा गएको थियो भने चिनियाँ पाहुना टोली तेस्रो बनेको थियो ।

घोषणा अनुसार नै पहिलो र दोस्रो हुने नेपाली टोलीले चालु अंग्रेजी वर्षको डिसेम्बर २१ र २२ तारिखमा आयोजना भएको ‘कुन्मिन माउण्टेनियरिङ एण्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौड’मा सहभागिता जनाउने अवसर पाएको हो । नेपालका गणेशसिंह ठकुरीले दौडको क्रममा करिब ३० किलोमिटर गलत बाटोमा दौडँदा उपाधिबाट विमुख बन्नु परेको टिमका व्यवस्थापक यामबहादुर गुरुङले जानकारी दिए ।