छोमरोङमा सेन्चुरी ल्होसार मेला, इन्दे्रणी टोलीको प्रस्तुती रहने

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं—११ छोमरोङमा १८ औं सेन्चुरी ल्होसार मेला—२०७६ हुने भएको छ । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै श्री सेन्चुरी युवा क्लवले ल्होसार मेलाको बारेमा जानकारी गराएको हो ।

पौष ५ गतेदेखि ९ गतेसम्म चल्ने मेलामा वडा स्तरिय पुरुष, महिला र भेट्रान्स भलिबल प्रतियोगिता, पुरुषमहिला बास्केटबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम राखिएको क्लबका अध्यक्ष मिकाश गुरुङले जानकारी दिए । उनका अनुसार पौष ६ गते एबिसी टेलिभिजनको चर्चित कार्यक्रम इन्द्रेणी टोलीको विशेष प्रस्तुती रहनेछ । मेलालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्दघाटन गर्ने छन् भने समापन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने तय भएको छ ।

प्रतियोगितामा वडा स्तरिय भलिबलमा पुरुषतर्फ प्रथम द्धितिय हुनेलाई क्रमश ः ८० र ५० हजार, महलातर्फ प्रथम द्धितियलाई क्रमश ः ५० र ३० हजार, प्रौढ (भेट्रान्स) तर्फ प्रथम द्धितियलाई क्रमश ः २० र १० हजार, बास्केटबलमा प्रथम द्धितियलाई ८० र ५० हजार प्रदान गरिने गुरुङले बताए । यस्तै सामुहिक नृत्यमा प्रथम, द्धितिय र तृतियले क्रमश ः ५०,३५ र २० हजार पाउनेछन् । उत्कृष्ट भेषभूषालाई पनि ५ हजार प्रदान गरिने आयोजकले जानकारी गराएको छ । नृत्य निर्देशकले समेत ५ हजार पुरस्कार पाउनेछन् ।

मेलामा छेलो प्रतियोगिता समेत राखिएको छ । छेलोमा प्रथम हुनेले ५ हजार पाउनेछन् भने द्धितियलाई ३ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष मिकाश गुरुङले जानकारी गराए । बोरा दौडको समेत प्रतियोगिता गरिने उनले बताए । ‘मेला गर्नुको प्रमुख उद्देश्य भनेकै अन्नपूर्ण गाउँपालिका भित्रका लोपन्मुख संस्कृतिको बचाउ र नेपाल सरकारको भिजिट नेपाल २०२० लाई सफल पार्ने हो’, उनले भने,‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरीनै हामीले मेलाको आयोजना गरेका हौं ।’

सेन्चुरी क्लबले यसअघि रक्तदान कार्यक्रम, गाँजा फडानी, सरसफाई अभियानका कार्यक्रमहरु गरिसकेको छ । रक्तदान कार्यक्रम वर्षेनी गर्छ । आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्न सम्बन्धित निकायबाट जति पहल हुनुपर्ने थियो त्यो नभएको क्लबको गुनासो छ । छोमरोङमा हुने यसपालीको मेलामा दिनमा ४ सय भन्दा बढीले मेलाको अवलोकन गर्ने क्लबको अनुमान छ ।

अन्नपूर्ण गाँउपालिका अन्तर्गत पर्ने छोमरोङ पर्यटकीय गन्तव्य हो । यसको विकास र संरक्षणमा टेवा पु¥याउन सके गण्डकी प्रदेश सरकारले राम्रै लाभ लिन सक्छ । पोखरा हरिचोकबाट कास्कीको मट्क्योसम्म गाडीनै लाग्छ । त्यहाँबाट लगभग ३ घण्टाको पैदल मार्ग हुँदै छोमरोङ पुग्न सकिन्छ । खाना र बस्नको राम्रो सुविधासम्पन्न होटल लजको व्यवस्था रहेको छोमरोङ पर्यटकको रोजाईमा परेको छ ।

पहिला घान्दु्रक र छोमरोङ एउटै गाविस थिए । अहिलेको नयाँ संरचना अनुसार छोमरोङ र घान्द्रुक फुटाइएको हो । भित्रि घान्द्रुकलाई राम्रो सँग बुझ्न छोमरोङको यात्रा गर्नुपर्ने हुन्छ । बाह्य एवम आन्तरिक पर्यटकलाई सुलभ दरमै सेवा प्रदान गरिने गुरुङले बताए । ‘यसमा बाह्यको हकमा आन्तरिकलाई रेटदरमा केहि सस्तो पर्ला तर फरक त्यति हुँदैन’, उनले भने ।