उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी

पोखरा ।

महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको बताइएको छ । उपप्रमुखसंग महिला कार्यक्रमको प्रभावकारीता र चालु वर्षका कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिहरुसंग आयोजना गरिएको छलफलमा कार्यक्रमको सकरात्मक प्रभाव र महिलालाई उद्यमी बनाउन महत्वपूर्ण भुमिका खेलेको सहभागीहरुले बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उपप्रमुखसंग महिला कार्यक्रम नमुना प्रोजेक्टका रुपमा अगाडी बढेको बताउदै त्यसलाई अझै प्रभावकारी बनाएर लैजाने पक्षमा महानगर रहेको बताए । उनले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने गरी कार्यक्रम आएको बताए । उनले अघिल्लो वर्षको कार्यक्रम प्रभावकारी भएकाले यस वर्ष बजेट बृद्धि गरिएको बताए ।

कार्यक्रमको उद्देश्य महिलालाई उद्यमी बनाउदै आत्मनिर्भर बनाउने हो उनले भने, अव महानगरले अनुदान र तालिम दिने बजेट घटाएर उद्यमी बनाउने नीति लिएको बताए । ‘तालिम गरेर भत्ता बाँडेर रिजल्ट आउदैन्, परिश्रम गरेपछि परिणाम आउछ भन्ने हो ।’ उपप्रमुख एंव कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले महिलाहरुलाई आर्यआर्जनसंग जोडेर आत्मनिर्भर बनाउने योजना अनुसार कार्यक्रम ल्याएको बताइन् । उनले महिलाहरुको कामको मुल्यांकन हुने र आर्यआर्जनसंग जोडदै उद्यमी बनाउने योजना हो भनिन् । महानगरले अघिल्लो वर्ष २ करोड रुपैयाँ विनियोजन गरेको भएपनि यस वर्ष ३ करोड रुपैयाँ विनियोजन गरेको बताइन् । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत विपन्न, एकल, अपाङगता भएका र हिंसा पीडित महिलाका लागि प्राथमिकता दिएर ऋण लगानी गरेको बताइन् ।

कार्यक्रममा कार्यपालिका सदस्य राधिकाशाही योगीले महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सधै पछाडी पर्ने बताइन् । उनले उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको र यसलाई व्यवस्थित गदै निरन्तता दिने बताइन् । कार्यक्रममा अञ्जु क्षेत्री, पार्वती कार्की, किरण गौतम, हरिमाया वि.क, भोजकुमारी थापा लगायतले उपप्रमुखसंग महिला कार्यक्रम दिदाँ महिला जनप्रतिनिधिसंगको समन्वयमा दिदाँ थप प्रभावकारी हुने विश्वास ब्यक्त गरे । उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत आचु आर्थिक वर्षको कार्यक्रम पुष महिनाबाट सञ्चालन गर्ने छ । त्यसका लागि महानगरका ३३ वटै वडाबाट आउने मागलाई उपप्रमुखसंग महिला सञ्चालक समितिको बैठकले आवश्यकता र कार्यक्रमका आधारमा निर्णय गरेपछि ऋण लगानी गर्ने छ ।