लेकसाइडलाई सागमय बनाउन आग्रह

पोखरा ।

पोखरामा हुने विच भलिबलको लागि पर्यटकीय क्षेत्र लेकसाईडलाई सागमय बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङले आग्रह गरेका छन् । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरा ६ लेकसाईडमा विच भलिबल प्रतियोगिता हुँदैछ ।

पोखरा ६ लेकसाइडमा हुने विच भलिबलको तयारीको क्रममा वडा ६ तथा स्थानीयसंग राखिएको छलफल कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले उक्त कुरा बताएका हुन । विच भलिबल नेपालको लागि नौलो खेल भएकाले खेलाडीले लगाउने ड्रेस समेत अन्य खेलमा भन्दा फरक हुने हुदाँ त्यसलाई अन्यथा नलिन पनि गुरुङले आग्रह गरे । पोखरा पर्यटकीय सहर भएकै कारण समेत फेवाताल किनारमा उक्त प्रतियोगिता गर्न लागेको उनले बताए । विच भलिबल सम्पन्न गर्नको लागि अंग्रेजी वर्षमा भन्दा पनि भव्य रुपमा लेकसाईडलाई सजाउनु पर्ने उनको धारणा रहेको छ ।

“यो राष्ट्रिय गौरवको मात्र कुरा होइन, गण्डकी प्रदेश र फेवातालको समेत गौरवको विषयको कुरा हो । यो सफल बनाउनु अब लेकसाईडवासीको जिम्मेवारी हो ” सदस्य गुरुङले भने । पोखरा रंगशाला निमार्णको लागि सरकारले एक अर्ब २८ करोड रकम विनियोजन भए संगै विच भलिबलको लागि ५० लाख रुपैँया लेकसाईडमा छुट्टिएको उनले सुनाए । लेकसाइडलाई सके शहिदचोकदेखि जरेवरसम्म नसके बैदाम देखि हल्लनचोक सम्म राष्ट्रिय झण्डा राखी झकिझकाउ बनाउन लेकसाइडवासी तथा व्यवसायीलाई उनले आग्रह गरे ।

लेकसाईडमा पर्यटकको बसार्इं लम्बाउने योजना समेत रहेको कारणले नै प्रतियोगिता गर्न लागिएको उनले बताए । त्यस्तै, मंसीर १६ गते पोखरामा उद्घाटन समारोहमा समेत आफ्नो सांस्कृतिक भेषभुषा सहित सहभागी हुन आग्रह गर्दै खेलाडीको स्वागतको लागि राष्ट्रिय झण्डा सहित स्वागतद्धार निमार्ण गरे खेलाडीको मनोबल बढ्नुको साथै आफ्नो राष्ट्र प्रति गौरव समेत बढ्ने उनले बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले विच भलिबल सम्पन्न पार्न लेकसाईडवासी प्रतिबद्ध रहेका बताए । लेकसाइड सजाउनको लागि आफूले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, वडा ६ का अध्यक्ष जगत पहारीले लेकसाईमा खेलाडी तथा अतिथि स्वागतको लागि वडामा रहेको आमा सम्ूह, क्लब तथा संघसंस्थाहरुलाई आवश्यक समन्वय गरी प्रतियोगिता सफल बनाउने बताए ।

लेकसाइडलाई सागमय बनाउनको लागि मंसीर १३ गते वृहत सरसफाइ कार्यक्रम समेत आयोजना गरी पूर्ण सफा गर्नको लागि कामदार समेत वडाको तर्फबाट खटाउने प्रतिबद्धता व्यक्त गरे । पोखरा लेकसाइडमा मंसीर १९ गते देखि २२ गतेसम्म हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । विच भलिबलको लागि पूर्वाधार तयार भइसकेको छ ।