तराजुले सबैको न्याय गर्छ ः उम्मेदवार केसी

पोखरा ।

‘जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिन्छ, अब साझा पार्टीबाहेक अरु विकल्प छैन्, तराजुले सबैको न्याय गर्छ,’ मंगलबार पोखराको सिद्धार्थ चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै साझा पार्टीका तर्फबाट कास्की २ मा उम्मेदवार बनेकी रजनी केसीले भनिन् । उनले कास्की २ का जनताले नेतृत्वलाई कमी कमजोरी सुधार गर्ने राम्रो अवसर पाएको भन्दै त्यसको सदु¥योग गर्न आग्रह गरिन् । जनताले कम्युनिष्ट र कांग्रेसको विकल्प खोजी रहेको बताइन् ।

उनले भनिन्, ‘घरदैलोमा जनतासँग संवाद गर्दा विकल्पको खोजी गरिरहेको मैले पाएँ, अब देशमा कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको साझा पार्टी मात्र हो ।’ काण्डैकाण्डमा मुछिएका पार्टीबाट विकास र सुशासनको आशा गर्नु व्यर्थ हुने उनको ठम्याई छ । संसदमा २ सय ७५ जना सांसदले नउठाएको कुरा आफूले उठाउने उनले दाबी गरिन् । नागरिकलाई स्वतन्त्र बनेर बस्न पाउनु पर्ने अधिकारलाई पार्टीले सुनिश्चित गर्ने उम्मेदवार केसीको भनाइ छ । ‘स्वतन्त्र भएर मतदान गर्नुपर्ने नागरिकले आफ्नो मत स्वतन्त्र भएर खसाल्न पाएका छैनन्, हामी नागरिकको स्वतन्त्र हुने अधिकारलाई सुनिश्चित गर्छौँ ।’

उम्मेदवार केसीले साझा पार्टी सधैँ पेशागत र विद्यार्थी संघ संगठन खारेज गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पारिन् । ‘देशमा कसैलाई बाँकी छोडिएको छैन, सबैलाई पार्टीको दास बनाइएको छ, साझा पार्टी यस्ता संगठन खारेज गर्ने पक्षमा छ,’ उनले भनिन् । छिमेकीले आफ्नो देशको भूमि मिच्दा पनि सरकार चुपचाप लागेर बसेको भन्दै उनले रोष प्रकट गरिन् ।

नेताहरु भ्रष्टाचारी बन्दा देश बर्बाद भयो ः संयोजक मिश्र
यस्तै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले ३० वर्षदेखि पालैपाले सत्ता चलाइरहेका नेताहरु भ्रष्टाचारी बन्दा देश बर्बाद पारेको बताए । उपनिर्वाचनमा मत बदलेर देश विकासको सारथी बन्न उनले आग्रह गरे । मतदातालाई लक्षित गर्दै संयोजक मिश्रले भने, ‘कुनै पार्टी प्रति आस्था राख्नु हुन्छ भने उपनिर्वाचन पार्टीेले गरेका गल्ती सुधार्ने मौका हो ।’ साझा पार्टीले कहिँकतै गल्ती गरेको भए सधार गर्ने मौका र सुझाव दिन उनले आग्रह गरे ।

सभामा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विकासका लागि राजनीति गर्ने नेताहरुका कारण नै विश्वका धेरै देशले छोटो समयमा परिवर्तनको गति लिएको बताए । उनले उपनिर्वाचनमा सही नेता छनोट गरेर पठाउन उनले आग्रह गरे । ‘विश्वमा छोटो समयमा नै परिवर्तनको गति लिएका दर्जनौँ देश छन्, त्यहाँका नेतालाई विकास भन्ने थाहा भयो र परिवर्तन भयो, हाम्रामा त्यस्ता नेता नभएकाले पछि प¥यौँ ।’

यस्तै पोखरा ४ गणेश टोलमा आयोजित कोण सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य सुशिला केसी अधिकारीले जनताले पार्टी प्रति गरेको विश्वासले आफू उर्जा थप गरेको बताइन् । उनले समयको परिवर्तनसँगै पूरै देश साझामय बन्ने दाबी गरिन् । चुनावी अभियान अन्तर्गत कास्की २ का ११ वटै वडामा घरदैलो कार्यक्रम सकिएको छ । पार्टीले मंगलबार पोखराको सिद्धार्थ चोक, गणेश टोल, महेन्द्रपुल, गैह्रापाटनलगायतका ठाउँमा कोणसभा गरेको थयो ।