मुलुक, लोकतन्त्र र संविधानमाथि खतरा छ ः केसी

पोखरा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेको खेमराज पौडेल र कम्युनिष्ट विचको लडाइँ नभएर चुनाव सदाचार र विविचार, न्याय र अन्याय, स्वतन्त्रता र निरंकुशता बीचको लडाइँ भएको बताएका छन् ।

पोखरा–२०, भलाममा आयोजित चुनावीसभामा नेता केसीले अहिलेको राजनीतिक परिस्थितिलाई विष्लेषण, संस्लेषण र विहंगम विचार गरेर मतदान गर्नुपर्नेमा जोड दिए । उम्मेदवार पौडेल लोकतन्त्रप्रतिको निष्ठा, त्याग र समर्पणबाट विभूषित व्यक्तित्व भएकाले उहाँले यो चुनाव जित्न आवश्यक भएको भन्दै उम्मेदवार पौडेल जत्तिका पाका नेता अन्य कोही हुन नसक्ने बताए ।

मुलुकको समस्यालाई समाधान गर्न सक्ने पार्टी नेपाली कांग्रेसमात्र भएको भन्दै उनले कांग्रेसले जनता सामू गरेका वाचा सधैं पूरा गरेको स्पष्ट पारे । नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति भन्दा बाहिर कहिल्यै नगएको दावी गर्दै अहिले मुलुक, लोकतन्त्र र संविधानमाथि खतरा रहेको उनले बताए ।

सत्य, सदाचार, न्याय, स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिनुपर्ने अवस्था आएकाले यो चुनाव कांग्रेसले जित्नुपर्ने खाँचो औंल्याए । पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतले ओली सरकार लिक भन्दा बाहिर गएकाले सरकारलाई लोकतान्त्रिक पद्धतिमा ल्याउन पनि खेमराज पौडेलले चुनाव जित्नुपर्ने खाँचो औंल्याए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र, स्वतन्त्रता, संविधान र संघीयता बचाउनकै लागि कांग्रेस चुनावी मैदानमा ओर्लिएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन जोशी, धनराज गुरुङ, उमा रेग्मी, पूर्व सांसद शारदा पौडे, सांसद विन्दा राना, गण्डकी प्रदेशसभा सदस्य तथा चुनावी कमाण्डर विन्दु थापा, नेता शुक्रराज शर्मा लगायतले बोलेका थिए ।

उक्त अवसरमा नेकपाका साथै विभिन्न पार्टी परित्याग गरी गौरी अधिकारी, गणेश खत्री, वसन्तबहादुर खत्री, मंगली गौतम, चिरञ्जीवि अधिकारी लगायत २ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।