‘वर्डक्याम्प पोखरा २०१९’ यहि मंसिर २१ र २२ मा

पोखरा ।

वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१९’हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते दुई दिन सम्म हुने कार्यक्रम २१ गते (पहिलो दिन) पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा र २२ गते (दोस्रो दिन) रानिपौवा स्थित इन्फमेटिक्स कलेजमा हुने कार्यक्रम संयोजक पितम बहादुर सेनले जानकारी दिए ।

उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देशबाट आएका स्पिकरहरुबाट सूचना प्रविधिका विभिन्न विषयमा प्रशिक्षण हुने र दोस्रो दिन वर्डप्रेसका विभिन्न विधाहरु मध्ये भाषा अनुवाद, थिम रिभ्यु तथा सपोर्टका विषयहरुमा प्रशिक्षण दिईने उनले जानकारी दिए । कार्यक्रममा भाग लिनका लागि रु।१५०० शुल्क निर्धारण गरिएको छ ।

जसबाट विभिन्न प्रशिक्षण सँगै कार्यक्रम अवधिभर खाजा, खाना र टि–सर्टको व्यवस्था गरिने जनाइएको छ । थप जानकारीका लागि 2019.pokhara.wordcamp.org मा पनि हेर्न सकिने आयोजकले जनाएको छ । करिब १० लाखको लगानीमा हुने कार्यक्रममा ३०० जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ सदस्सीय आयोजक समिति समेत गठन गरिएको छ ।

कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग कामगरि ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प कार्यक्रम भएको थियो ।

नेपालमा भने सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । यस्तै, राजधानी बाहिर पहिलोपटक वर्डप्रेस पोखराले सन् २०१८ मा कार्यक्रम गरेको थियो । पोखरामा यो कार्यक्रम दोस्रो पटक हुन लागेको हो ।